Latest News

चितवनमा चुनावी तालमेल गर्नेबारे सत्ता गठबन्धनको बैठकले गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times April 4, 2022 (2 Year ago)    1026 Views

काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ ।

दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १÷१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरू रिजालको पक्षमा रहेकाले मेयरको टिकट रिजालले पाउन सक्ने जिल्ला नेताहरुको बुझाइ रहेको छ । भरतपुरको मेयरमा दाबी गरेसँगै उनी सम्भावित युवा उम्मेद्वारको रुपमा देखिएका छन् ।

बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै उपाध्यक्षसम्म बनेका हुन् । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका छन्।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिमा अगाडि बढेका रिजाल पछिल्लो समय चितवन कांग्रेसका सबै गतिविधिमा सरिक हुँदै आएका छन् ।

भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने उनको दावी छ ।

देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफूसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस