Latest News

आफ्नो छोराले नगरपालिकाको मेयरमा टिकट नपाए विद्रोह गर्ने कांग्रेस नेता जोशीको तयारी

Nepalese Times April 4, 2022 (2 Year ago)    1343 Views

काठमाडौं । तनहुँमा चुनावी सरगर्मी बढ्न थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सरगर्मी बढ्न थालेको हो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शङ्कर भण्डारी, ध्रुव वाग्ले, गोविन्द भट्टराई, किसन श्रेष्ठ, किरण गुरुङ लगायतका नेताको गृह जिल्ला समेत रहेको तनहुँमा चुनावी गरगर्मी ह्वात्तै बढेको हो ।

निर्वाचन केन्द्रित गतिबिधिसंगै तनहुँका दस पालिका मध्येको सबै भन्दा ठुलो र धेरै जनसङ्ख्या रहेको सदरमुकाम दमौली समेत पर्ने ब्यास नगरपालिकामा आकाङ्क्षीहरू खुल्न थालेका छन्।

यो नगरपालिकामा कांग्रेसको तर्फबाट एक दर्जन बढी नेताहरूले आकाङ्क्षा देखाएका छन्। पूर्व मेयरदेखि, बहालवाला मेयर, उपमेयर, वडाध्यक्ष , जिल्ला समन्वय प्रमुख सहितका राजनीतिमा लामो समयदेखि लागेका नेताहरू पनि यो नगरपालिकाको मेयरका लागि आकांक्षी देखिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर सहित १४ मध्ये १३ वटा वडामा विजयी भएको कांग्रेसका तर्फबाट ब्यास नगरपालिकामा आगामी निर्वाचनका लागि झन्डै एक दर्जन जनाको दाबेदारी देखिएको छ ।

कांग्रेस नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले आफ्नो छोरालाई मेयरमा उम्मेदवार बन्न चाहिरहेका छन् । जोशीले छोरा दीपकराजलाई कांग्रेसकोतर्फबाट ब्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनाउन खोजेका हुन् ।

यदि पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार भए पनि बनाउने उनको तयारी छ। उनले पार्टीले टिकट नदिए एमालेसँग जिल्लामा चुनावी तालमेल गरेर भए पनि छोरालाई मेयर बनाउने रणनीति समेत बनाएको उनी निकटको दाबी छ।

आगामी निर्वाचनमा तालमेल गर्नेबारे जोशी र एमालेका जिल्ला स्तरका नेताहरूबिच छलफल जारी छ। जोशीले छोरालाई मेयरमा उठाउने योजना बनाएपछि कांग्रेसलाइ घुर्क्याउने र एमालेलाई फकाउने रणनीति बनाएको देखिन्छ।

व्यास नगरपालिकाको मेयरमा हालको मेयर वैकुण्ठ न्यौपानेले पुन दोहोरिने इच्छा देखाएका छन्। मेयरका रूपमा पहिलो कार्यकाल पूर्ण कार्यसम्पादन गर्न समय अपुग भएकाले पुनः मेयर बन्न चाहेको उनले बताएका छन् ।

न्यौपाने कांग्रेस वरिष्ठ नेता पौडेल निकट मानिन्छन्। गत पार्टीको जिल्ला अधिवेशनमा उनी सभापतिमा जितप्रकाश आलेसँग पराजित भएका थिए।

कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख रहेका शान्तिरमण वाग्लेले पनि दाबेदारी प्रस्तुत गरेका छन् । वाग्लेले आफूले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर कार्य गरेकाले मेयरका लागि स्वाभाविक दाबेदार रहेको बताएका छन् ।

हालकी उपमेयर मिरा जोशीले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएकी छन्। उनले उपमेयरका रूपमा राम्रो कार्यसम्पादन गरेकाले स्वाभाविक रूपमा आफू मेयरको दाबेदार रहेको जिकिर गर्दै आएकी छिन्।

यस्तै व्यास नगरपालिकाका पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ पनि मेयरको उम्मेदवार बन्ने तौडमा छन् । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहेका थिए। तर पार्टीले उनलाई टिकट दिएन।

कांगेसको महाधिवेशन प्रतिनिधि अशोक कुमार श्रेष्ठले तनहुँका पूर्व उपसभापति देवकुमार श्रेष्ठ, काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल पनि व्यास नगरपालिकाको मेयरको दौडमा रहेका छन् ।

कांग्रेसका तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेलको पनि मेयरमा उम्मेदवार बन्ने चर्चा छ। उनी पहिला भानु नगरपालिकाका मतदाता थिए। उनले व्यास नगरपालिकामा मतदाता नामावली सारेका छन्।

कांग्रेसका पुराना नेता समुन्द्र गोदार, सङ्गठन विभाग प्रमुख विश्व बास्तोला, जिल्ला सदस्य डम्बरबहादुर अधिकारी समेतलाई नगरप्रमुखको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।

गत निर्वाचनमा एमालेका तर्फबाट मेयरमा उम्मेदवार बनेका शङ्कर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत ल्याएका थिए। नगर प्रमुखमा विजयी भएका वैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए। तर, अहिले पार्टी विभाजन भएकाले त्यसको प्रभाव निर्वाचनमा पर्ने भएपछि एमाले पर्ख र हेरको अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस