Latest News

लालबाबु पण्डितले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिँदै, गरे यस्तो तयारी

Nepalese Times April 3, 2022 (1 Year ago)    860 Views

काठमाडौं । एमालेको स्थायी कमिटि सदस्य एवम् पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहको चुनावमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

पहिलो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभीपीआर प्रकरणमा चर्चामा आएका उनी अहिले फेरि स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने विषयले चर्चामा अएका हुन् ।

यस्तै साइकल चढेर हिड्ने, सादाजीवन उच्च विचारका नेताका रुपमा उनले चर्चा कमाएका थिए । सिंहदरबारलाई पृष्ठभूमिमा पारेर झण्डावाल साइकल चढेको उनको तस्वीर भाइरल नै भएको थियो ।

उनै पण्डित अहिले फेरि मेयर पदमा उम्मेदवारी दिने विषयले चर्चा भएको हो । पहिलो पटक स्थानीय तह चुनाव २०७४ मा भईरहँदा पनि पण्डितले विराटनगरको मेयरमा आकाँक्षा देखाएका थिए ।

पार्टी टिकट दिएमा आफू मेयरमा उठ्ने र पछि नहट्ने उनले अडान लिएका छन् । ‘एमालेले चुनाव जित्नुपर्छ, यसका लागि म आवश्यक हुँ भन्ने पार्टीले भन्छ भने म तयार छु ।’ मेयरको आकांक्षा देखाउँदै पण्डितले भनेका छन्, ‘अब बिराटनगरको विकासका लागि पनि एमालेको नेतृत्व चाहिएको छ ।’

यसपटक उनले अनौपचारीक रुपमा चर्चा चलाएर पार्टीको मनसाय बुझ्न लागेको र पार्टीले टिकट दिए उम्मेदवारी दिने मनसाय बनाएको उनी निकट नेताहरु बताउँछन् । २०३९ सालबाट राजनीति प्रारम्भ गरेका पण्डित पुर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका नेता हुन् ।

पूर्व प्रधानमन्त्री भईसकेकै ब्यक्तिले स्थानीय तहको मेयरमा रुची रहेको अभिब्यक्ति दिएपछि लालबाबुमा विराटनगरको मेयरमा थप रुची जाँगेको देखिन्छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि यसअघि स्थानिय सरकारमा जाने रुचीको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस