Latest News

धनगढी उपमहानगरको मेयरमा सत्तारुढ ३ दलकै दाबी, यी पदमा कांग्रेस पछि नहट्ने

Nepalese Times April 3, 2022 (2 Year ago)    997 Views

काठमाडौं । धनगढी उपमहानगरपालिकामा आउँदो बैशाख ३० गतेका लागि तय भएको चुनावको सरगर्मी बढेको छ ।

यस उपमहानगरपालिकाको नेतृत्व हत्याउनका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तिनै दलले दाबी प्रस्तुत गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उद्योगी गोपाल हमाल पनि चुनावी प्रचार व्यस्त छन्।चुनावमा उम्मेदवारी चयनका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छलफल अगाडि बढाएका हुन्। तर उनीहरु एक्लाएक्लै तयारीमासमेत व्यस्त भएका छन् ।

२०७४ को चुनावमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई झिनो मतान्तर (२ हजार ७ सय) ले हराउँदै कांग्रेसका नृपबहादुर वड मेयर बनेका थिए। उनै हमाल यसपटक फेरि उम्मेदवार बन्ने भएपछि धनगढी उपमहानगरमा कांग्रेसलाई जित हासिल गर्न चुनौती देखिएको छ।

पार्टीको केन्द्रीय समितिको निर्णयानुसार आवश्यकता हेरेर सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको कांग्रेस कैलाली जिल्ला सभापति नारायण भट्टले बताए ।

पार्टीले आवश्यकता र परिस्थितिअनुसार चुनावमा तालमेलको निर्णय गरेको र कहाँ र कसरी तालमेल गर्ने भनेर केही स्पष्ट नभएको उनले बताए । कांग्रेसले धनगढी उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत नछाड्ने अडान लिएको छ।

मेयर, उपमेयरसहित कांग्रेसले १२ वडा पनि जितेको थियो। त्यसैले मेयर र उपमेयर आफूहरुको दाबी स्वभाविक रहेको नेताहरुको भनाइ छ । कैलालीका टीकापुर, लम्की, अत्तरिया, जोशीपुर, बर्दगोरिया, जानकीलगायत महत्त्वपूर्ण ठाउँ कांग्रेसले नछाड्ने उनको दाबी छ।

२०७४ सालको चुनावमा कमजोर उपस्थिति देखिएको नेकपा माओवादी र एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी धनगढीमा गठबन्धनको फाइदा उठाउँदै नेतृत्व हत्याउने दाउमा छ।

माओवादी र समाजवादी नेतृत्वमा दाबी गरेर नगरमा आफ्नो शक्ति सुरक्षित गर्ने प्रयासमा छ। गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि दल धनगढी उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेका छन्।

माओवादी केन्द्रले धनगढी उपमहानगरमा प्रमुख वा उपप्रमुखमध्ये एउटा पाउनुपर्ने नेता बलबहादुर ऐर बताउँछन्। धनगढी उपमहानगरको नेतृत्वमा एकीकृत समाजवादीले पनि दाबी गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मी बताउँछन्।

सत्ता साझेदार जनता समाजवादी पार्टीले चाहिँ धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा दाबी गरेको छ। केन्द्र हुँदै स्थानीय तहसम्म गठबन्धन हुनुपर्नेमा आफूहरूले प्रदेशमा गठबन्धनको अनुभूति गर्न नपाएको उनको गुनासो छ। जसपाको बलियो पकड रहेको कैलालीका टीकापुर, भजनी, कैलारी, गौरीगंगामा नेतृत्वमा नै दाबी गरहेको उनको भनाइ छ।

यस्तै सुदूरपश्चिममा तुलनात्मक रूपमा राष्ट्रिय जनमोर्चाको उपस्थिति कमजोर छ। निर्वाचन लक्षित कार्यक्रम भइरहेको बताउँदै जनमोर्चाका नेता रामबहादुर कार्कीले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार आफूहरू अगाडि बढ्ने बताए।

अहिले धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्र उपमेयर छन्। कूल १९ वटा वडा रहेको उपमहानगरका १२ वटा वडा कांग्रेसले जितेको छ।

प्रतिक्रिया दिनुहोस