Latest News

काठमाडौं महानगरको मेयरमा पूर्व मिस नेवाः डंगोलको उम्मेदवारी घोषणा, सार्वजनिक गरिन् यस्तो अपिल

Nepalese Times April 3, 2022 (2 Year ago)    1248 Views

काठमाडौं । पूर्व मिस नेवाः सुनिता डंगोलले यहि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाबाट मेयरको उम्मेदवारी घोषणा गरेकी छिन् ।

उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गर्दै आफ्नो चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेकी छिन् । उनले घोषणापत्रमा समावेश गर्ने एजेण्डामा सुझावका लागि अपिल गरेकी छिन् ।

घोषणापत्रमार्फत उनले भनेकी छिन्, ‘देशभरका ७५३ वटै स्थानीय तहमा यहि बैशाख ३० गते एकैसाथ निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने मैले यस अघि नै घोषणा गरिसकेको विदितै छ ।’

उनले मेयर पदमा निर्वाचित भै काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रुप प्रदान गर्न युवाहरुको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘काठमाडौँ म जस्ता लाखौँ युवाको भाग्य र भविश्य निर्माण गर्ने सहर हो । म यहि सहरमा जन्मिए, म यहिँको माटोमा हुर्किए र धेरै कुरा सिक्ने अवसर पनि यहिँको माटो र परिवेशबाट प्राप्त गरेँ,’ उनले भनेकी छिन्, ‘त्यसैले मैले यहि माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौँको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।’

डंगोलले मुलुक समृद्ध बनाउन नयाँ सोँच र जोस भएका युवा आवश्यक रहेको पनि अपिलमा उल्लेख गरेकी छिन् । ‘अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ,’ अपिलमार्फत उनले भनेकी छिन् ।

अपिलमा भनिएको छ, ‘समृद्ध र सुन्दर काठमाडौँ महानगर बनाउन युवाहरुको भिजन अहिलेको आवश्यकता हो । त्यसैले मैले मेयर पदको उम्मेदवार बन्दै गर्दा आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह, युवाको नूतन सोँच र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

डंगोलले युवाहरुका नूतन सोँच र योजनालाई समावेश नगर्ने हो भने मेरो चुनावी घोषणापत्र अधुरो बन्न सक्ने पनि उल्लेख गरेकी छिन् । ‘त्यसैले यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविश्य निर्माण गर्ने युवाहरुलाई साँस्कृतिक सहर काठमाडौँलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नविनतम् सोँच समावेश गर्न युवाहरुका नूतन योजनाका लागि यहि अपील मार्फत आग्रह गर्दछु,’ अपिलमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस