Latest News

चुनावकै मुखमा प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना, कति सम्भव कति असम्भव ?

Nepalese Times April 3, 2022 (1 Year ago)    549 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपट फेरि आफूले सरकारको नेतृत्व गर्ने चाहना गरेका छन् ।

माओवादी केन्द्रकै नीतिमा देश अघि बढे पनि नेतृत्वमा नआउँदा विकास हुन नसकेको भन्दै उनले एकपटक फेरि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका हुन् ।

महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीकै बलमा देश लोकतान्त्रिक गणतन्त्रमा गयो। देशलाई संकटबाट बचाउने काम पनि माओवादीबाट नै भयो । सबै गर्ने माओवादी तर सरकार चलाउने अरु अमाओवादी भए। त्यसैले जसको नीति उसको नेतृत्व आवश्यक हुन्छ।’

उनले अहिले नेकपा माओवादी केन्द्रमा नयाँ जागरण देखिएको भन्दै जनताले देश विकासका लागि माओवादीलाई नै रोज्ने बताए। ‘जनताको आशा अपेक्षा अनुसार विकास सम्बृद्धिको अभियान चलाउन सक्ने विकास गर्ने माओवादी नै हो भन्ने चेतना देशभरी नै पैदा भएको छ,’ उनले भने, ‘अब निर्वाचन आइसकेको छ। तपाईंहरु सबै लाग्नुपर्छ।’

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारले महत्त्वपूर्ण काम गरेको भन्दै उनले अहिले गठबन्धनको सरकार रहेको र संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने दिशातर्फ नै सरकार गइरहेको बताए ।

यो बीचमा अनेकौं नाममा गठबन्धन भत्काउने पनि प्रयास भएको तर, त्यो सम्भव हुन नसकेको भन्दै उनले एकपटक फेरि सरकारको नेतृत्व गर्ने चाहना बोकेर आफू अघि बढेको बताए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, र नेकपा एकीकृत समजवादीको बैठकले केन्द्रको निर्णयलाई स्वागत गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला उपसभापति दिल्लीराज जोशीको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरका नेताहरू बैठकमा सहभागी भएका थिए ।

कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार बैठकले निरन्तर छलफल जारी राख्ने निर्णयसमेत गरेको छ । निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय पनि भएको कांग्रेस डडेलधुराले जनाएको छ ।

केन्द्रमा भएको निर्णयको मर्मअनुसार जिल्लामा छलफल भएको नेकपा एसका नेता डा. तारा जोशीले बताए । छलफलमा निर्वाचनमा जिल्लास्तरमा तालमेल गर्ने र सोही अनुसार भद्र सहमति गरेर अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए ।

कांग्रेस सभापति देउवाको गृहजिल्लामा कांग्रेसभित्र आन्तरिक विवाद पनि कायम छ । सोही विवादलाई ध्यान राखेर गठबन्धनमार्फत आफ्नो साख बचाउने कांग्रेसको दाउ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस