Latest News

आजबाट सार्वजनिक गाडी भाडा बढाउने सरकारको निर्णय

Nepalese Times April 3, 2022 (2 Year ago)    770 Views

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ ।

मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

यो निर्णय आज आईतबार अर्थात चैत २० गतेदेखि लागू हुने र नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

इन्धनको मूल्य ५ प्रतिशत तलमाथि भएपछि गाडी भाडा स्वचालित रूपमा घटबढ हुने विभागका एक कर्मचारीले जानकारी दिए । आजबाट लागू हुने नयाँ भाडा १० देखि १५ प्रतिशत बढ्ने उनले जानकारी दिए ।

महासघंले इन्धनको मूल्यवृद्धि गरेर व्यवसायीमाथि अत्याचार भएको भन्दै ७ चैतसम्म भाडा समायोजन नभए ८ चैतदेखि महासंघले अध्ययन गरी समायोजन गरेका आधारमा भाडा निर्धारण गरिने चेतावनी दिएका थिए ।

७ चैतमा विभागले सार्वजनिक यातायातको भाडामा स्वचालित प्रणाली लागू गर्न प्रक्रिया अगाडि बढाएको जनाएको थियो ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस