Latest News

तपाईं पनि मृगौला पीडितको ५ हजार लिन आउनुस् भन्दै गगन थापाले ओलीलाई दिए मुखभरीको जवाफ

Nepalese Times April 2, 2022 (2 Year ago)    1763 Views

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरीको जवाफ फर्काएका छन् । केही दिनअघि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन्।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको कार्यक्रममा उनले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो। अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ। तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको ? भन्दै प्रश्नसमेत गरे ।

नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको ? भनेर सोध्न सक्नुपर्ने भन्दै उनले त्यो सकेन भने नेता बलियो जनता कमजोर हुने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति पनि महामन्त्री थापाले जवाफ फर्काएका छन् । छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भनेको भन्दै थापाले त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोलेको बताए ।

तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै उनले गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने बताए ।

तालमेल गर्नेबारे पार्टीमा छलफल भइरहेको भन्दै उनले भने, ‘माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन। हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन। त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने ?’

गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताए। ‘गठबन्धनबारे पाटीले निर्णय गरेपछि हामीले परिपत्र गरेर छौँ। उहाँहरुले अब छलफल गर्नुपर्छ। अब तपाईले नै यहाँबाट मलेर जान्छौँ भने ठिक छ। हुँदैन भन्नुहुन्छ भने पनि ठिक छ। अन्तिम निर्णय तपाईंहरुले नै गर्ने हो’ उनले भनाइ छ।

एमाले अध्यक्ष ओलीले केही दिनअघि काठमाडौंमा भएको कार्यक्रममा आफ्नो सरकारले वृद्धभत्ताको लोकप्रिय कार्यक्रम ल्याएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ७० वर्ष पुगिसकेको हुनाले एमालेमा भोट हाल्न आग्रह गरेका थिए।

त्यस अवसरमा ओलीले देउवाले सूर्य चिन्हमा भोट हालेमा कम्तीमा मर्नेबेलामा एउटा मात्र भए पनि पुण्य मिल्ने भन्दै हाँसीमजाक शैलीमा ठट्टासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस