Latest News

एकपटक भेटौँ भन्दै ओलीलाई प्रचण्डको फोन, ओलीले के जवाफ दिए ?

Nepalese Times April 2, 2022 (2 Year ago)    2665 Views

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब १ महिना १० दिन मात्रै बाँकी छ । चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरु आ–आफ्नो रणनीतिमा सक्रिय भएका छन् ।

सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय त भयो, तर कसरी तालमेल गर्ने भन्नेबारे झन विवाद झाँगिने देखिएपछि माओवादी केन्द्रका नेताहरु नेकपा एमालेका नेताहरुसँग निरन्तर संवादमा रहेका छन् ।

केही दिनअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै एमालेका नेताहरुसँग आफ्ना पार्टीका नेताहरु निरन्तर रातारात छलफल गरिरहेका खुलासा गरेका थिए । उनै अध्यक्ष प्रचण्डले नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिले बिग्रिएको सम्बन्ध सुधार गर्न सक्रियता बढाएको बुझिएको छ ।

नेपाली कांग्रेसले पेलेरै अघि बढ्ने छनक देखाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेर एकपटक भेटेर कुराकानी गर्ने इच्छा देखाएको एमालेका एक नेताले खुलासा गरेका छन् ।

एमाले र माओवादी केन्द्रका केही नेताहरु चीन भ्रमणबाट फर्किएलगत्तै नेपालका कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्न दबाब बढिरहेको छ । त्यहि दबाबको बाबजुत पचण्डले ओलीसँग एकपटक फेरि भेटेर कुराकानी गर्ने मनस्थिति बनाएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेट्नका लागि आग्रह गरेपछि एमाले अध्यक्ष ओलीले मिलेर जानुपर्ने आवश्यकता रहेको तर अहिले नै निर्णयमा पुगिहाल्ने अवस्थामा आफू नरहेको जवाफ फर्काएका थिए ।

विशेषगरी चितवनको भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेनु दाहाललाई फेरि एकपटक दोहोर्याउनुपर्ने दाउमा रहेका प्रचण्ड जसले साथ दिन्छ उसैतिर सहकार्य गर्ने मूडमा रहेका छन् ।

चितवनको भरतपुरमा यसअघि पनि कांग्रेसले हँसिया–हथौडामा भोट हालेकाले यो पटक भने कुनै पनि हालतमा नछाड्ने अडानसहित चितवन कांग्रेस अघि बढेको छ ।

भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

प्रतिक्रिया दिनुहोस