Latest News

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै, आज पनि ८० पैसाले बढ्यो

Nepalese Times April 2, 2022 (1 Year ago)    793 Views

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको इन्डियन आयल निगमका अधिकारीहरुको भनाइ छ ।

आज शनिवार भारतमा पेट्रोलको मूल्इ प्रतिलिटरमा ८० पैसाको दरले बढेको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रतिलिटरमा ७ दशमलव २० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजलको मूल्य प्रतिलिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।

यस्तै इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य घटेको छ भने ग्यासको मूल्य भने बढेको छ ।

शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ।

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रूपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ। मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।

हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस