Latest News

विचार नै नमिल्नेहरुसँग चुनावी तालमेल गर्नुपर्ने आवश्यकता छैनः शेखर कोइराला

Nepalese Times April 2, 2022 (2 Year ago)    1473 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विचार नै नमिल्नेहरुसँग चुनावी तालमेल गर्न नसकिने बताएका छन् ।

पोखरामा प्रजातान्त्रिक बिचार समाज कास्कीको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले विचार नै नमिल्ने शक्तिहरुसँग तालमेल गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

एउटा विशेष परिस्थितिमा सरकार संचालनका लागि मात्रै गठबन्धन गरेर अघि बढिएको भन्दै उनले सरकार संचालनका लागि बनेको गठबन्धन चुनावसम्म नै लैजानुपर्छ भन्ने तर्क गलत रहेको बताए ।

उनले प्रश्न गरे, ‘३६ लाख कांग्रेसका साथिहरुलाई यो वर्ष पनि हँसिया हथौडामा भोट हाल्न भन्यौँ भने पछि रुख चिन्हमा भोट हाल्न भनेर हामीले कसरी आग्रह गर्ने ?’

कुनै वडामा आफूहरुले माओवादीलाई दिने हो भने आफूहरुको ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियानकोसमेत अर्थ नरहने बताए । वडासम्म नै तालमेल गर्नुपर्ने भनेर नेताहरुबीच छलफल भइरहेको भन्दै उनले यो निक्कै अप्ठ्यारो कुरा रहेको बताए ।

नेपाली कांग्रेस नेपालको लोकतन्त्रलाई सुद्धढ गराउने पार्टी भएको भन्दै उनले फरक बिचार बोकेकर शक्तिहरुबीच चुनावी तालमेल गरेर अघि बढ्ने कुरा निक्कै अप्ठ्यारो रहेको बताए ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए ।

‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।’ वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा काँग्रेस नरहेको बताए ।

उनले भने, ‘केन्द्रबाट सबै निर्णय लादिँदैन । यस्तो नीति काँग्रेसको छैन ।’ अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस