Latest News

चितवनका साथीहरु समझदार हुनुहुन्छ, रुखलाई छोड्ने कुरै छैन – रामचन्द्र पौडेल

Nepalese Times April 2, 2022 (2 Year ago)    1507 Views

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए ।

‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।’ वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा काँग्रेस नरहेको बताए ।

उनले भने, ‘केन्द्रबाट सबै निर्णय लादिँदैन । यस्तो नीति काँग्रेसको छैन ।’ अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताए ।

अहिलेको गठबन्धन कडा र नरम नभएको भन्दै उनले तालमेलको विषयमा प्रारम्भिक छलफलहरु भइरहेको बताए । वरिष्ठ नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले काँग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनुपर्ने अवस्था नरहेको बताए । ‘निरास हुनुपर्ने अवस्था छैन । रूखलाई छोड्ने कुरै छैन’, उनले भने, ‘चितवनका साथीहरु समझदार हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस