Latest News

देउवा र मोदीबीचको भेटवार्ता सकियो

Nepalese Times April 2, 2022 (2 Year ago)    639 Views

काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुबै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ।

यस्तै हैदराबाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको उद्घाटन गर्नेछन् भने सोलु कोरिडोर प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणका दौरान दुई मुलुकबीचको आपसी हीत प्रबर्धन भन्दा पनि नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच समन्ध सुधारको प्रयास भएको छ ।

शुक्रबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको दिनदयाल मार्गस्थित मुख्यालयमा पुगे । प्रधानमन्त्रीको भारत भ्रमणको सुरुआत नै भाजपाको पार्टी कार्यलयबाट सुरु भएको थियो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात आइटीसी मौर्य होटलमा पुगी केहीबेर आराम गरेका प्रधानमन्त्री देउवा लगत्तै भाजपा मुख्यालय पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले नै नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धको महत्व दर्शाउँदै अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहेको बताएका थिए ।

भेटमा प्रधानमन्त्री देउवासहित प्रथम महिला आरजु राणा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भूसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्र राय यादवपनि भाजपा अध्यक्षसँगको भेटमा सहभागी थिए ।

भेटमा सहभागी एक मन्त्रीले भाजपा मुख्यालयको कार्यक्रम मूलतः प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाको ‘बातचित’ मै केन्द्रीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस