Latest News

भरतपुरमा रेनु दाहाल गठबन्धनबाट उम्मेदवार बन्ने, चितवन कांग्रेसले आफ्नै उम्मेदवार उठाउने

Nepalese Times April 2, 2022 (2 Year ago)    1619 Views

काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति गरेसँगै विषेशगरी महानगरपालिका र उपमहानगरपालिकाको चुनावलाई चासोका साथ हेरिएको छ ।

नेकपा एमालेका उम्मेदवारलाई हराउनका लागि स्थानीय तहदेखि नै गठबन्धन गर्ने निर्णयले कुन पालिकामा कुन दलको उम्मेदवार हुने भन्ने आम चासोसमेत चुलिएको छ ।

सबैभन्दा धेरै चासोका रुपमा महानगरपालिका र उपमहानगरपालिकालाई लिइएको छ । त्यसमा पनि विशेषगरी चितवनको भरतपुर महानगरपालिकामा हेरिएको छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीको दाबी कायमै रहेको बताएका थिए । त्यसलगत्तै चितवन कांग्रेसले पनि आफूहरुले संघै माओवादी केन्द्रको चुनाव चिन्हमा भोट हाल्न नसक्ने भनेका थिए ।

सबैको चासोको रुपमा हेरिएको भरतपुर महानगरमा अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । यो पटक पनि आफ्नै छोरी दाहाललाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको कसरत भएको हो ।

यो पटक पनि दाहालले नै मेयरमा उठ्ने र गठबन्धनले त्यसै अनुसार निर्णय गरेमा त्यसलाई मान्न न सकिने चितवन कांग्रेसले जनाएको छ । चितवन कांग्रेसले भरतपुरमा फेरि पनि मेयरमा रेनु दाहाल नै उम्मेदवार भएर आएमा आफूहरुले भोट नहाल्ने र अर्को उम्मेदवार खडा गर्ने चेतावनी दिएको छ ।

विशेषगरी महानगरपालिका र उपमहानगरपालिकामा चुनावी भागबण्डाका लागि प्रमुख सत्तारुढ दलहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । प्रदेश, जिल्लान र पालिकास्तरमा ५ वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने र त्यहि संयन्त्रमार्फत चुनावी भागबण्डा गर्ने निर्णय भएको छ ।

यसअघि २०७४ सालमा तालमेलको निर्णय गर्नुअघि नै कांग्रेसले भरतपुरको प्रमुखमा दिनेश कोइराला (हाल केन्द्रीय सदस्य) लाई उम्मेदवार बनाइसकेको थियो  । उनले उम्मेदवार फिर्ता गर्न नमानेपछि देउवाले केन्द्रबाटै चिठी लेखेर निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता गराएका थिए  । त्यसको आलोचना देउवाले लामो समयसम्म खेप्नुपरेको थियो ।

अहिले पनि देउवाले चितवनका जिल्लादेखि केन्द्रसम्मका नेताहरूलाई माओवादीलाई मेयर छाड्नका लागि ‘कन्भिन्स’ गराउन कम्मर कसेका छन् । तर, चितवन कांग्रेसका नेताहरूको भने व्यापक विरोध छ । स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने चितवन कांग्रेसका नेताहरूको भनाई छ ।

पार्टीको निर्णय प्रक्रियामा प्रभाव जमाउँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि भरतपुर महानगरपालिका यसपटक कांग्रेसले लिनैपर्ने पक्षमा छन् ।

कांग्रेस नेता शेखर कोइरालाले पहिल्यैदेखि भरतपुरमा माओवादीलाई छाडेर तालमेल हुन नसक्ने बताउँदै आएका छन् । चितवनमा कांग्रेस नेतृत्व कोइराला पक्षको बाहुल्य भएकाले देउवालाई ‘पेलेरै’ अघि बढ्न चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस