Latest News

कलाकार दिपकराज गिरी माओवादी प्रवेश गरेका हुन् ? दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 2, 2022 (2 Year ago)    1103 Views

काठमाडौं । अहिलेसम्म आफू कुनै पनि पार्टीमा प्रवेश नगरेको कलाकार दीपकराज गिरीले बताएका छन् । आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरीले माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको जानकारी गराएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए । केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए ।

खासमा दिपकराज गिरिसंग नाम मिलेर समाचार बाहिर आउँदा यो समस्या आइपरेको हो । समाचार के थियो भने, एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टीमा स्वागत गराएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा उनलाई स्वागत गरिएको थियो ।

यसैबीच, कलाकारहरुले पार्टी प्रवेश गर्ने क्रम चलिरहेकै बेलामा अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

उनीहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको र जतिसक्दो चाँडो उनीहरु पार्टी प्रवेश गराईने उनको भनाइ छ । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको छ ।

भुवनले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर पार्टी प्रवेशबारे छलफल गरेका थिए । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले प्रस्ताव समेत राखेका थिए ।

तर प्रवक्ता शाहीले भने अध्यक्ष लिङ्देन र अभिनेता केसीबीचको छलफलबारे आफूलाई थाहा नभएको बताए । प्रवक्ता शाहीले भने, ‘भेट्ने कुरा चाहिं भएको हो, तर छलफलबारे मलाई थाहा छैन । सबै जिम्मा धवलजीको वार्ता समितिलाई दिएका छौं ।’

यस्तै अभिनेत्री मनिषा कोइरालासँग पनि राप्रपा प्रवेश गर्नेबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रवादी शक्तिहरुबीच एकता र सहकार्य गर्नेबारे कुराकानी भएको र त्यही अवधारणाअनुसार मनिषा कोइरालासँग कुराकानी अघि बढेको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस