Latest News

सुर्खेत कांग्रेसः गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने शेखर पक्षको घोषणा

Nepalese Times April 2, 2022 (2 Year ago)    943 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने नेपाली कांग्रेसले निर्णय गरेसँगै सत्तारुढ दलको बैठकले पनि देशभर तालमेल गरेर अघि बढ्ने निर्णय गर्यो ।

गठबन्धनमा रहेका दलहरुको बैठकले स्थानीय तहबाट नै चुनावी तालमेल गर्ने निर्णय गरेसँगै राजनीतिक दलहरु पालिकामा आफ्नो दबदबा बढाउन सक्रिय भए ।

चुनावी तालमेल गर्ने निर्णयले नेपाली कांग्रेसभित्र भने ठूलो फाटो देखिएको छ । पहिलेदेखि नै चुनावी तालमेल गर्न नहुँने पक्षमा रहेको शेखर कोइराला पक्षले गठबन्धनका उम्मेदवारलाई भोट नै नहाल्नेसम्मको चेतावनी दिएको छ ।

स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेको छ । नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ ।

सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु नारायण कोइरालालगायतको टोलीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षले कम्तिमा चार पालिकाको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ तर पाँच दलीय गठबन्धन हुँदा काँग्रेसलाई हानि हुने भन्दै उक्त समूहले फरक रणनीति बनाउन थालेको हो ।

पछिल्लो समयमा सुर्खेत कांग्रेस नौ वटै पालिकामा सहजै जीत हासिल गर्न सकिने आँकलन गरिरहेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा, गुर्भाकोट नगरपालिका, बराहताल र चिङ्गाड गाउँपालिकामा जीत हासिल गरेको थियो ।

कांग्रेस एक्लैले जितेका उक्त पालिका यसपटक गठबन्धनका कारण गुम्नसक्ने खतरा भएको भन्दै शेखर पक्षले आपत्ति जनाइरहेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति रेग्मीसहित शेखर पक्षका नेता कार्यकर्ताले पहिलोदेखि गठबन्धनको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने दलले अन्य कम्युनिष्ट दलसँग गठबन्धन गर्दा त्यसको स्थानीयस्तरमा गलत सन्देश जाने बताए ।

प्रतिक्रिया दिनुहोस