Latest News

प्रधानमन्त्री देउवा भाजपाको पार्टी कार्यलय गएपछि चर्को आलोचना, के भन्छन् विज्ञहरु ?

Nepalese Times April 2, 2022 (2 Year ago)    815 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर ३ दिने भारत भ्रमणमा रहेका छन् । भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कायक्रम छ ।

भ्रमणकै क्रममा प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगे । उनको त्यो कदमलाई विज्ञहरुले अशोभनीय भनेका छन्।

उनको यो भ्रमण नेपाली कांग्रेसको कांग्रेस सभापतिका रुपमा मात्रै भन्दा पनि प्रधानमन्त्रीको रुपमा भएकोले भाजपाको पार्टी कार्यलय जानु कूटनीतिक मर्यादा विपरीत रहेको परराष्ट्र सम्बन्धका जानकारहरु बताउँछन्।

प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गर्नु कुटनीतिक मर्यादा विपरीत रहेको परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल डा. निरन्जनमान सिंह बस्नेत बताउँछन् ।

अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्री भारतका पार्टी विशेषको कार्यालयमा पुगेको रेकर्ड नरहेको र प्रधानमन्त्री देउवा भाजपा मुख्यालय गएको हो भने त्यो कुटनीतिक मर्यादा विपरीत हुने उनको तर्क छ ।

प्रधानमन्त्री कुनै पार्टी विशेषको कार्यालयको भ्रमणमा जाँदा त्यहाँका कांग्रेस आई लगायत पार्टीले आपत्ति जनाउन सक्नेतर्फ पनि उनले संकेत गरेका छन् ।

भ्रमण दलमा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदी, भारत महाशाखा प्रमुख तीर्थ वाग्लेसहितका परराष्ट्र मन्त्रालयका अधिकारी साथमै छन्।

तर परराष्ट्र मन्त्रालयले भ्रमणको कार्यतालिका बनाउने क्रममा नै प्रधानमन्त्री देउवाको भाजपा मुख्यालय भ्रमणको कार्यक्रम नराख्न आग्रह गर्न सक्नुपर्ने कुटनीतिज्ञहरु बताउँछन्।

प्रधानमन्त्रीको भ्रमणमा कुटनीतिक मर्यादाको ख्याल गर्ने र भेटहरुलाई प्रधानमन्त्रीको मर्यादा अनुकुल भए नभएको हेर्ने काम शिष्टाचार महापालको हो।

नेपालका प्रधानमन्त्री नयाँ दिल्ली जाँदा त्यहाँका सत्तापक्ष र विपक्षी नेताले भेट्नु अस्वाभाविक होइन। विगतमा त्यहाँका सत्तापक्ष र विपक्षी दलका नेता नेपाली दूतावास वा नेपालका प्रधानमन्त्री बसेका होटलमै आएर भेट्ने गर्थे।

देउवालाई भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको छ। भाजपा अध्यक्ष जेपी नड्डा र भाजपा नेताहरुले देउवासँग भेटवार्ता गरेका छन्। देउवाका साथमा पत्नी आरजु देउवा र भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महेन्द्र राय यादव, उर्जामन्त्री पम्फा भुषाल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि त्यस अवसरमा सहभागी थिए।

यस्तै ४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई उनकै समकक्षीले स्वागत गर्नुपर्ने ठाउँमा राज्यमन्त्रीले स्वागत गरेको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ ।

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस