Latest News

आवश्यकता र प्राथमिकताका आधारमा चुनावी तालमेल गछौँ – राजेन्द्र लिङ्देन

Nepalese Times April 1, 2022 (2 Year ago)    451 Views

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय आवश्यकता र प्राथामिकताका आधारमा चुनावी तालमेल गर्ने बताएका छन् ।उदयपुरको सदरमुकाम गाइघाटमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले पत्रकारसँगको भेटघाटमा आवश्यकता र प्राथमिकताका आधारमा चुनावी तालमेल हुने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले गरेको कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा प्राथामिकता निर्धारण गरी चुनावी अभियानामा जान सकिने बताए।

आफूहरु भुगोल केन्द्रित अभियानमा रहेको र त्यसकै लागि उदयपुर आइपुगेको भन्दै उनले ठाउँका वस्तुगत अवस्था गहन ढंगले अध्ययन र विश्लेषण गरेर नेता कार्यकर्ताको भावना बुझेर तालेमल गर्न सकिने बताए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा देशभर ४० प्रतिशत ठाउँमा राप्रपाका उम्मेदवार रहेको भन्दै उनले यो पटक सबै ठाउँमा आफूहरुको उम्मेदवार रहने बताए ।

सकेसम्म कसैसँगै तालमेल नगरी एकल उमेदवारी दिने सोचमा आफूहरु रहेको भन्दै उनले यसले आगामी दिनमा हाम्रो कार्यादेश पनि बन्ने र यदि त्यसो नभई गठबन्धन भए समझदारीमा उम्मेदवार हुने बताए ।

जसरी सिंहदरवारको अधिकार गाउँमा पुगेको छ, त्यसरी नै त्यहाँको विकृति, विसंगती तल्लो तहसम्म पुगेको भन्दै उनले अघिकार भित्रिएसँगै स्थानीय तहमा भ्रष्टचारहरु संस्थागत हुन थालेकाले राप्रपाले भ्रष्टचारको विरुद्ध र सुशासनको पंक्षमा अभियान सुरु गरेको उनले स्पष्ट पारे।

उनले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाबाट विजयी भएका ठाउँमा १२ कक्षासम्म निस्शुल्क र गुणस्तरिय शिक्षा प्रदान गरिने, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउने, कृषि पेसालाई रोजगारमा जोड्ने, उत्पादित बस्तुको बजारिकरण गर्ने योजना रहेको बताए।

अध्यक्ष लिङ्देनले अस्पताल पुर्याइएका विरामीको उपचारमा लापरवाही हुन नदिन र कोही पनि उपचार नै नपाई मृत्यु नहोस भन्नका लागि त्यहीँ किसिमको व्यवस्था गर्ने योजना रहेको बताए। उनले जेष्ठ नागरिकलाई कम्तिमा महिनामा एक पटक घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाईने बताए।

पत्रकार भेटघाट पछि आयोजित जनसभामा राप्रपाका अध्यक्ष लिङ्देन, पुर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेत, उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, १ नम्बर प्रदेशका अध्यक्ष राम थापा, केन्द्रीय सदस्य रामकुमार सुब्बा लगायतले सम्बोधन गरेको जिल्ला अध्यक्ष धुब्र रायमाझीले बताए। उनले जनसभामा ठूलो संख्यामा पार्टी प्रवेश गरेको बताए।

प्रतिक्रिया दिनुहोस