Latest News

मन्त्री रामकुमारी झाँक्री पुग्नुअघि नै एमाले सांसदले भवन उद्घाटन गरिदिएपछि….

Nepalese Times April 1, 2022 (2 Year ago)    994 Views

काठमाडौं । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि मन्त्री रामकुमारी झाँक्री पुग्दा एमाले सांसदले भवन उद्घाटन सम्पन्न गरिसकेका छन् । धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पछि त्यसको औपचारीक उद्घाटन कार्यक्रम तय भएको थियो ।

जसका लागि मन्त्री रामकुमारी झाँक्रीलाई निम्ता पठाइएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो । सरकारी पक्षले शनिवार भवन उद्घाटनको तयारी गर्दै गर्दा उता एमाले सांसद भने उद्घाटन गरेर फर्किसकेका छन् ।

मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरी फर्किसकेका छन् । शहरी विकास अन्तरगत बनेको उक्त स्वास्थ्य चौधरी मन्त्री झाँक्रीबाट उद्घाटन गराउने तयारी गरिएको थियो ।

धनकुटाबाट एकीकृतका कार्यकर्ता मन्त्रीलाई ‘रिसिभ’ गर्न भेडेटार पुगेका छन् । धनकुटामा मन्त्री झाँक्रीले पार्टीको नगरसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेखसमेत तयार पारेको थियो । तर, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङले नयाँ शिलालेख बनाएर सांसद राईको हातबाट उद्घाटन गराए पछि अब के हुन्छ भन्ने चासो बढेको छ ।

सहरी विकास कार्यालयल भने एमाले सांसदले भवन उद्घाटन गरेको औपचारीक जानकारी आफुहरुलाई नभएको र शनिवार मन्त्री झाँक्रीले उद्घाटन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस