Latest News

एकै पठक यति धेरै ठाउँमा बर्डफ्लू फैलियो, के गर्दै छ सरकार ?

Nepalese Times April 1, 2022 (2 Year ago)    486 Views

काठमाडौं । चितवनका विभिन्न आठ ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । एकैपटक धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

खैरहनी नगरपालिका वडा नं २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका वडा नं ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले जनाएको छ ।

ती फार्ममध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।

बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरूमा पक्षी नष्ट गरिने उहाँले जानकारी दिए । ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उनले बताए । यसअघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।

जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा।रामनन्दन तिवारी सहितको विज्ञ टोली चितवन पुगेको छ । देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तिवारीले बताए ।

हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उहाँले जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो ।

ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उनको भनाइ छ । सरकारले दिने राहत रकमको सरदर हिसाब गर्दा आजसम्म रु आठ करोडभन्दा बढी भएको भन्दै उनले विभागसँग रु एक करोड २१ लाख मात्रै बजेट रहेको बताए ।

यद्यपी प्रदेश र सङ्घका निकायहरूले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पक्षी नष्ट गर्न निर्देशन दिए । यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरूको सहयोगको आवश्यक भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस