Latest News

एकीकृत समाजवादी छाडेर एमालेमै फर्किए यी गाउँपालिका अध्यक्ष

Nepalese Times April 1, 2022 (2 Year ago)    537 Views

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा एमालेमा फर्किएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज रहेका उनलाई माले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका हुन् ।

विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य सुशिल थापाले बताए ।

उनले एमालेमा फर्किएसँगै भने, ‘म मूलघरमै फर्किएको छु । लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको थियो । अब एमालेमै फर्केर जनताको सेवामा खट्छु ।’

पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’

अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिए ।

यस्तै नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासन गरेको हो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्री क्षेत्रीलाई एमालेले कारबाही गरेको हो । यस्तै अरु तीन वडा सदस्यलाई पनि एमालेले कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १५ का वडा सदस्य जानुका रेग्मी, वडा ४ की वडा सदस्य डिला परियार, वडा ७ का दीपक कुमाललाई सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस