Latest News

कलैया उपमहानगरमा कांग्रेसका यादवसहित कुन दलका को–को छन् आकांक्षी ?

Nepalese Times April 1, 2022 (2 Year ago)    811 Views

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकासहित जिल्लाका १६ वटै पालिकाका प्रमुख पदका आकांक्षीहरु अहिले टिकटका लागि लौडधुपमा रहेका छन् । पार्टीमा गरेको योगदान र बितेको निर्वाचनमा आफूले प्राप्त गरेको मतलाई आधार मानेर उनीहरुले पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् ।

बारा निर्वाचन क्षेत्र नं. ३ मा पहिलादेखि नै नेपाली काँग्रेस बलियो देखिएको छ । काँग्रेसले कलैयामा एक्लै चुनाव जित्ने नेपाली काँग्रेसका नेता एवं मेयर राजेश राय यादवको दाबी छ ।

नेकपा एमालेले पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएको छ । पहिलादेखि नै राम्रो पकड रहेको नेपाली काँग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच नै कलैया उपमहानगरपालिकामा प्रतिस्पर्धा हुने देखिएको छ । यी तीन दलका उम्मेदवारमध्येबाटै मेयरमा निर्वाचित हुने अड्कलबाजी भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा जिल्लाका दुई ठूला पार्टीका अध्यक्षहरु नै प्रमुख पदका लागि आंकाक्षी देखिएका छन् । नगरप्रमुख तथा कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव र एमालेका जिल्ला अध्यक्ष बिनोद साह नगरप्रमुख पदका लागि पुनः आकांक्षी बनेका छन् ।

यसअघिको निर्वाचनमा कलैयामा तेस्रो शक्तिका रुपमा संघीय समाजवादी फोरम र चौथोमा माओवादी केन्द्र रहेको थियो । एमालेसँग १६३ मतमन्तरले बिजयी बनेका यादव र एमालेका साह दुवैले पुनः उम्मेदवारीका लागि पार्टीभित्र लविङ गरिरहेका छन् ।

अगामी निर्वाचनका लागि पार्टीले टिकट दिए आफूले पुनः उम्मेदवारी दिने नेपाली काँग्रेसका बारा जिल्ला सभापति समेत रहेका कलैयाका मेयर राजेश राय यादवले बताएका छन् ।

पार्टीले जिम्मेवारी दियो भने पुनः एकपटक उम्मेदरीका लागि आफू आकांक्षी रहेको नेपाली काँग्रेसका बारा जिल्ला सभापतिसमेत रहेका मेयर साहको भनाइ छ । कलैया उपमहानगरपालिकाको मेयरमा निर्वाचित नेपाली काँग्रेसका राजेश राय यादव यसपालि पार्टीको जिल्ला सभापतिमा समेत निर्वाचित भएका छन् ।

यस्तै अघिल्लो निर्वाचनमा मेयरमा १८३ मत अन्तरले पराजित भएका एमाले उम्मेदवार विनोद साह यस वर्ष पनि मेयरमै चुनाव लड्ने योजनामा रहेका छ । तर अहिलेसम्म पार्टीले मेयरको टुंगो लगाउन नसकेको उनको भनाइ छ ।

आफूलाई मेयरका लागि बलियो उम्मेदवारका रुपमा दाबी गरिरहेका साहले यसपालि एमालेमा विभिन्न दल परित्याग गरेर प्रवेश गर्नेहरुको लहर चलेका कारण पनि एमालेकै जित सुनिश्चित रहेको बताएका छन् ।

पार्टीले उम्मेदवारको टुंगो नलगाए पनि उनी अहिलेदेखि नै गाउँगाउँमा पार्टी संगठनमा रहेका अगुवा नेता कार्यकर्तालाई सक्रिय बनाउन दौडधुप गरिरहेका छन् । आ–आफ्नो दलबाट मेयरको उम्मेदवारको टिकट नपाउँदै आकांक्षीहरु चुनावी प्रचारप्रसार र मतदाता रिझाउन उनी सक्रिय देखिएका छन् ।

यस्तै कलैया उपमहानगरमा ०७४ को चुनावमा चौथो शक्तिका रुपमा रहेको माओवादी केन्द्रका तर्फबाट पनि पुरानै उम्मेदवार मुकेश साह मेयरका आंकाक्षी देखिएका छन् । कलैया नगर कमिटी अध्यक्ष समेत रहेका साहले माओवादी विगतमा चौथो शक्तिका रुपमा भए पनि यसपालि आफ्नो पार्टीले जित्ने दाबी गरे ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा ९ हजार ४०४ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेका जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता निकट नपाउँदै चुनावी प्रचार प्रसारमा जुटेका छन् । मेयरका लागि पार्टीले आफूलाई नै टिकट उपलब्ध गराउने विश्वासका साथ उनी चुनावी प्रचार प्रसारमा जुटेका हुन् ।

यस्तै पहिलो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. ३ बाट तत्कालीन मधेसी जनअधिकार फोरमको टिकटमा गुप्ता सभासदमा निर्वाचित भएका थिए । गुप्तासहित जसपाबाट जिल्ला समन्वय समितिका उपसभापति समेत रहेका पवन ब्याहुत, धमेन्द्र यादव, शिवनाथ पटेलले मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

विगतमा नगरमा कमजोर देखिएको लोकतान्त्रिक समाजवादी पार्टीबाट जयप्रकाश साहले मेयरमा टिकट पाउने पक्का भएसँगै उनी पनि चुनावी प्रचार प्रसारमा जुटेका छन् । २०७४ को निर्वाचनमा उम्मेदवारी दिएका साहले ३ हजार १२२ मत प्राप्त गरेका थिए ।

२०७४ को कलैया उपमहानगरको निर्वाचनमा १६ राजनीतिक दल सहभागी थिए । जसमध्ये नेपाली कांग्रेसले १० हजार ८७९ मत पाएको थियो भने नेकपा एमालेले १० हजार ७१६ मत पाएको थियो ।

प्रतिक्रिया दिनुहोस