Latest News

प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएलगत्तै गृहमन्त्री खाँडले पाए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times April 1, 2022 (2 Year ago)    653 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएलगत्तै गृहमन्त्री बालकृष्ण खाँडले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । देउवा ३ दिने भारत भ्रमणमा रहेकाले गृहमन्त्री खाँडले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाणलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

‘प्रधानमन्त्री देउवाको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गृहमन्त्री खाँणले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका हुन्।

प्रधानमन्त्री देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरे ।

त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा रहेका छन् ।

त्यसैगरी प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी–व्यवसायी सङ्घसङ्गठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपप्रमुख रामप्रसाद सुवेदीलगायत दूतावासका उच्चअधिकारी नयाँदिल्लीबाट सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस