Latest News

चुनावी तालमेलका लागि एमाले र माओवादीका नेताहरुबीच मध्यरातमा भेटवार्ता, प्रचण्डले नै गरे नयाँ खुलासा

Nepalese Times April 1, 2022 (2 Year ago)    992 Views

काठमाडौं । सत्तारुढ दलको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेपनि कांग्रेसका केही नेताहरुको अभिव्यक्तिका कारण आस्वस्त हुन नसकेको माओवादी केन्द्रले नेकपा एमालेसँग पनि छलफल अघि बढाएको खुलेको छ ।

चुनावी तालमेलका क्रममा धेरै पालिकाहरुमा कांग्रेसले दाबी गर्ने र कांग्रेसका नेताहरुले पनि रुष्ट भाषा प्रयोग गरेको भन्दै माओवादीका नेताहरु एमालेका नेताहरुसँग निरन्तर छलफलमा रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आफ्नो पार्टीका नेताहरुले एमालेका नेताहरुसँग मध्यरातको १२ बजेसम्म चुनावी तालमेलबारे कुराकानी गर्ने गरेको खुलासा गरेका छन् ।

प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिँदै कांग्रेसले आवश्यक हैसियत नदिए एमालेसँग मिल्ने बताएका छन् ।

माओवादीका केही नेताहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने आफूले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आउने बताए ।

प्रचण्डले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए एमालेतिर जानसक्ने गठबन्धन बैठकमै चेतावनी दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर दिएनन् । २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छोडिदिने र बाँकी भागवण्डा गर्ने प्रचण्डको प्रस्ताव छ ।

कांग्रेस सभापति देउवा पनि केन्द्रबाटै तालमेलबारे निर्णय गर्ने पक्षमा छन् । तर डा। शेखर कोइराला समूहले एक्लै लड्नुपर्ने दबाव दिएको छ भने तल्लो तहबाट तालमेलबारे केन्द्रबाट निर्णय नगर्न चर्को खबरदारी छ । यो अवस्थामा तालमेल गर्दा कांग्रेसको एउटा शक्तिले असहयोग गर्ने हो कि भन्नेमा प्रचण्ड सशंकित देखिएको सहभागी एक नेताले बताए ।

२०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो दल बन्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । गठबन्धनको मर्म अनुसार तालमेल हुँदा विजयी हुने स्थान बढ्ने आशामा रहेको माओवादी केन्द्रले कांग्रेसबाट विश्वासिलो प्रतिवद्धता नआए एमालेसँग पनि बाटो खुला भएको संकेत गरेको छ ।

प्रचण्ड स्वयंमले बिहीबार गठबन्धनको बैठकमा आफ्नो पार्टीका नेताहरु चुनावी तालमेलका लागि एमाले नेताहरु निरन्तर संवादमा रहेको सुनाएका छन् । एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु केही दिनअघि चीन भ्रमण गरेर फर्किएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली गत साता कुन्मिङ गएको थियो भने माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङ पनि कुन्मिङ पुगेका थिए ।

दुबै दलका नेताहरु एकैपटक चीन भ्रमणमा जानु संयोग मात्रै नभएकाले पार्टी एकताका लागि चीन सक्रिय भएको कतिपयको बुझाइ छ । चीनबाट फर्किएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी बैठकमै चीनले वामपन्थी मिलेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।

माओवादी नेता देव गुरुङले पनि नेपालका बामपन्थीहरु एक होउन भन्ने चीनको पुरानै चाहना रहेको र यसपाली पनि उनीहरुले त्यही शुभेच्छा प्रकट गरेको बताएका थिए । एमाले र माओवादी केन्द्रले २०७४ को संसदीय निर्वाचनमा गठबन्धन बनाउँदा झण्डै दुई तिहाई सिट आएको थियो । वाम तालमेलपछि पार्टी एकता नै भएको थियो ।

कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिबाट बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्दै सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले गरेको निर्णयले पुरै आश्वस्त हुन नसकेका प्रचण्डले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्ने वाक्यप्रति कटाक्ष गरेका थिए । यसले गठबन्धनलाई कांग्रेसले हल्का ढंगले लिएको प्रष्ट भएको भन्दै प्रचण्डले एमालेतिर जाने चेतावनीसमेत दिएका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस