Latest News

काठमाडौं महानगरको मेयरमा केशव स्थापितको उम्मेदवारी

Nepalese Times April 1, 2022 (2 Year ago)    1440 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने नेकपा एमालेले तयारी गरेको छ । स्थापितलाई मेयरको टिकटका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत सिग्नल दिइसकेका छन् ।

काठमाडौं महानगरमा एमालेबाट आफूले मेयरको टिकट पाउने निश्चित जस्तै भएको स्थापितले आफूनिकटहरुलाई बताउन थालेका छन् ।

टिकट लगभग पक्का भएको र बीचमा परिस्थिति नबिग्रिए आफू नै मेयरको उम्मेदवार बन्ने निश्चितजस्तै भएको उनले बताएका छन् । काठमाडौंका पूर्व मेयर समेत रहेका स्थापितले अघिल्लो चुनावमा पनि मेयरमा उठ्ने इच्छा गरेका थिए ।

तर त्यसबेला ओलीको विपक्षमा रहेका कारण उनले टिकट पाएनन् । २०७४ मा उनले विद्यासुन्दर शाक्यलाई काँध हाले। अहिले बागमती प्रदेशसभा सदस्य रहेका उनी मन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

अहिलेका मेयर शाक्यले नै फेरि दोहोरिन खोजेपनि चुनाव जित्न कठिन रहेको आकलनसहित ओलीलाई केशवलाई मेयरमा उठाउने तयारी गरेका छन् । ओली ०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष रहेका बेला स्थापित महासचिव थिए। ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए।

युवासंघको अध्यक्ष भएकै बेला ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बने। सदस्यसचिव भएका बेला खेलकुद पूर्वाधार विकासमा भूमिका खेलेको भन्दै अहिले पनि उनलाई स्मरण गर्ने गरिन्छ। खेलकुदबाट राम्रो छवि बनाउनुको फाइदा स्थापितलाई २०५४ सालमा भयो। त्यसबेला भएको स्थानीय निर्वाचनमा उनले मेयरको टिकट पाए र निर्वाचित भए।

यस्तै मेयरबाट राजनीतिक छवि स्थापित गरेका स्थापितले त्यसयता पटक पटक राजनीतिक धार परिवर्तन गरे। कुनै बेला राजावादी कित्तामा पनि पुगे। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६० सालमा स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरमा मनोनित गरेका थिए। त्यसबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए।

तर माओवादीसँग साँठगाँठ गरेको आरोपमा उनलाई मेयरबाट हटाइयो। लगत्तै उनले प्रजा परिषद पार्टीको पुनर्गठन गरे। पछि बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएका बेला स्थापितलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाए। तर अपेक्षित काम नगरेको भन्दै उनलाई बर्खास्त गरियो।

२०७० सालको चुनावमा उनले काठमाडौं ६ बाट टिकटको अपेक्षा राखेका थिए। तर, योगेश भट्टराई उठेपछि उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बने। र, भट्टराईलाई चुनाव हराउन भूमिका खेले।

अनेक राजनीति फेरबदलबीच ओलीले स्थापितलाई एमालेमा फर्काउँदै २०७४ मै काठमाडौंको मेयरमा उठाउन चाहेका थिए। तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्षलगायत नेताहरुले विरोध गरेपछि ओली पछि हटे।

मेयर नबने पनि स्थापित काठमाडौं प्रदेश ३ मा टिकट लिएर चुनाव लडे, जिते पनि। त्यसपछि स्थापित बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भए। तर मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन र विवाद बढेपछि बर्खास्तीमा परे।

स्थापितले अघिल्लो निर्वाचनमा मेयरमा आकांक्षा राखे पनि पार्टीले शाक्यलाई सहयोग गर्न भनेपछि आफू पछि हटेको उनको भनाइ छ। यसपटक पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस