Latest News

एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्ने यी ४ जनप्रतिनिधिलाई कारबाही

Nepalese Times April 1, 2022 (2 Year ago)    1591 Views

काठमाडौं । नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासन गरेको हो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्री क्षेत्रीलाई एमालेले कारबाही गरेको हो । यस्तै अरु तीन वडा सदस्यलाई पनि एमालेले कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १५ का वडा सदस्य जानुका रेग्मी, वडा ४ की वडा सदस्य डिला परियार, वडा ७ का दीपक कुमाललाई सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

यस्तै एमाले, माओवादी केन्द्र र राप्रपाबाट १०० भन्दा धेरै व्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन् । काठमाडौंको टोखा नगरपालिका ८ कार्यसमितिले गरेको कार्यक्रमको अवसरमा कांग्रेस महामन्त्री गगन थापाले एमाले, माओवादी केन्द्र र राप्रपाबाट आएका १०० भन्दा धेरैलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले नेतृत्व गरेको सरकारका बेलामा भएका कामहरुको फेहरिस्त लिएर जनतामा जान आग्रह गरेका छन् । थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले गरेका कामको प्रचार गर्न आग्रह गरेका हुन् । उनले कांग्रेसको घरमा आउने सबैलाई कांग्रेसले स्वागत गर्ने बताएका छन् ।

उनले यसले थप तागत र मजबुत बनाउने उल्लेख गर्र्दै अबको डेढ महिनामा जनताले निर्वाचनमा दल रोज्न र फेर्न पाउने बताए । नेता थापाले कांग्रेसले जनता सामु गरेका वाचा सबै पूरा गरेको उनले दाबी गरे ।

उनले भने, ‘जनताले कांंग्रेसलाई किन रोज्ने हामीले घर–घर गएर बुझाउनुपर्छ । पाँच वर्षमा के–के भयो मूल्यांकन गर्नुपर्छ । स्थिति अहिले निकै फरक छ । नेपाली कांग्रेसले जनतासँग गरेको वाचा पूरा गरेको छ । २०७४ को घोषणापत्र फर्केर हेरौं । स्थिरता दिन्छु भन्नेहरूले के–के गरे, हामी सबैलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस