Latest News

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने समय तालिका, कहिलेसम्म केन्द्रमा पठाइसक्नुपर्छ ? (तालिकासहित)

Nepalese Times April 1, 2022 (2 Year ago)    5837 Views

काठमाडौं । नेपाली कांग्रेसले आउँदो बैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ। कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदगवार टुंगो लगाउने समय तालिका निर्धारण गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो। समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको परिपत्रअनुसार आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्न निर्धारित समय सीमाभित्र आवश्यक कार्य गर्नसमेत केन्द्रको निर्देशन छ । लिखित परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ।

कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।

यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ।

महानगर प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगर कार्यसमितिले योग्यता पुगेकामध्येबाट प्रमुख र उपप्रमुख दुवैका लागि एक महिलासहित बढीमा समान तीनजनाको नाम सहमतिबाट, यदि त्यो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनु पर्ने हुन्छ।

प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय–सुझावसमेत उल्लेख गरी केन्द्रमा पठाउने छ। केन्द्रले प्राप्त नामसहितको विवरण केन्द्रीय संसदीय समितिमा पठाउने छ।

केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमतिबाट यदि त्यसो नभए बहुमतबाट निर्णय गराउनेछ। उक्त निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने विधानमा उल्लेख छ।

महानगर प्रमुख, उपप्रमुखको उम्मेदवारको निर्णय गर्दा प्रदेश कार्यसमिति सभापतिलाई केन्द्रीय संसदीय समितिको बैठकमा आमन्त्रित गर्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस