Latest News

कांग्रेसका नेता घिमिरेले भने – हामीले राजेन्द्र लिङ्देनजस्तो सभापति कहिले पाउँछौँ ?

Nepalese Times April 1, 2022 (2 Year ago)    1496 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले आफूहरुले पार्टीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनजस्तो सभापति खोजेको बताएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता अहिले कुनै पनि दलमा नभएको भन्दै उनले आफूहरुलाई पनि यस्तै सभापति चाहिएको बताए । समाजिक संजालमा स्टाटस लेख्दै उनले व्यक्तिगत रुपमा राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता कोही नभएको बताएका हुन्।

कांग्रेस, कम्युनिष्ट र अन्य दलका नेताहरुले चित्त नदुखाउन भन्दै उनले अहिले व्यक्तिगत रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्ति जनमानसमा पपुलर नेता अरु कोही नभएको बताए । उनले लेखेका छन्, ‘आफूले त यस्तो सभापति कांग्रेसभित्र खोजेको हो ‘ तर के गर्नु !’

घिमिरेले यस्तफ स्टाटस समाजिक संजालमा पोष्ट गरेसँगै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि उनलाई धन्यवाद दिएका छन् । उनले राप्रपाको नेतृत्वप्रति व्यक्त भएकाे धारणाका लागि आभार प्रकट गर्दै जिम्मेवारीपूर्वक निरन्तर अघि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

यस्तै राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रूपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निष्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताएका छन् । साथै बैठकले चैत्र २७ गते हेटौँडामा बृहत् आमसभा गर्ने निर्णय समेत गरेको छ ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निराश भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रूपमा स्थापित हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस