Latest News

आज घोडेजात्रा, नेपाली सेनाले टुँडिखेलमा विशेष प्रदर्शन गर्दै

Nepalese Times April 1, 2022 (1 Year ago)    528 Views

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिँदैछ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छिन् । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ ।

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।

नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ । साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ ।

उपराष्ट्रपतिलगायत विशिष्ट महानुभाव टुँडिखेल जानु भई सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नुहुनेछ । विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ ।

घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ । दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ ।

परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताए ।

प्रतिक्रिया दिनुहोस