Latest News

काठमाडौंमा गठबन्धनः कांग्रेसको भागमा महानगरसहित ६ पालिका, माओवादी र समाजवादीलाई कुन–कुन ?

Nepalese Times March 31, 2022 (2 Year ago)    4208 Views

काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएसँगै राजधानी काठमाडौँमा कसरी चुनावी तालमेल गर्ने भन्ने विषयमा बहस सुरु भएको छ ।

काठमाडौंमा कांग्रेस, माओवादी र समाजवादीका नेताहरुले चुनावी तालमेलबारे छलफल सुरु गरेका छन् । काठमाडौँमा एक महानगरपालिकासहित अरु १० वटा नगरपालिकाहरु छन्।

११ वटा नगरपालिकामध्ये कांग्रेसले ६ वटा लिएर बाँकी ५ वटामा माओवादी र समाजवादीबीच भागवण्डा गर्ने गरी छलफल अघि बढेको कांग्रेसका एक नेताले बताए ।

पाँच वर्षअघिको स्थानीय चुनावमा ११ मध्ये कांग्रेसले चारवटा पालिकामा जित हाँसिल गरेको थियो भने एमालेले महानगरपालिकासहित ७ वटा जितेको थियो। यसपटक काठमाडौँमा एमालेलाई साइजमा राख्ने योजनाका साथ गठबन्धनमा आबद्ध दलहरुबीच कुराकानी भइरहेको कांग्रेसका एक नेताले बताए ।

२०७४ सालको चुनावमा कांग्रेसले गोकर्णेश्वर, दक्षिणकाली, नागर्जुन र चन्द्रागिरी नगरपालिका जितेको थियो। यसपटक ती नगरपालिकालाई कायमै राखेर महानगरसहित कम्तिमा दुईवटा थप हुनुपर्ने पक्षमा कांग्रेस रहेको छ ।

पार्टी विभाजपछि पनि काठमाडौँमा एमाले बलियो रहेको अनौपचारिक कुराकानीका क्रममा कांग्रेसका नेताहरु स्वीकार गर्छन्। उपत्यकामा खासै प्रभाव नरहेको माओवादीभन्दा विभाजनबाट बनेको समाजवादीमार्फत एमालेको भोट काट्ने रणनीति कांग्रेसले लिएको छ।

अघिल्लो पटक एमालेले काठमाडौँ महानगरपालिका, शंखरापुर, कागेश्वरी मनोहरा, बुढानिलकण्ठ, टोखा, नागार्जुन, तार्केश्वर र कीर्तिपुर नगरपालिका जितेको थियो। एमालेबाट निर्वाचित कागेश्वरी मनोहराका मेयर पार्टी विभाजनपछि समाजवादीमा लागेका छन्।

अघिल्लो चुनावमा काठमाडौँमा माओवादीको उपस्थिति कमजोर देखिएको थियो। माओवादीले ११ नगरपालिकाका १३८ वटा वडामध्ये जम्मा दुई वटा जितेको थियो।

काठमाडौँमा गठबन्धन दलबीच भागवण्डा मिलाउन धेरै समस्या नभएको एकीकृत समाजवादीका काठमाडौँ जिल्ला अध्यक्ष कुसुम कार्की बताउँछन्। गठबन्धन समाजवादीका लागि मात्रै नभइ कांग्रेस र अरु दलका लागि पनि आवश्यक रहेको उनको तर्क छ।

महानगरपालिका कांग्रेसलाई छाड्न तयार रहेको बताउने कार्की त्यसको बदलामा आफूहरुले अन्त भाग पाउनुपर्ने दाबी गर्छन्।

काठमाडौँ महानगरपालिकामा मेयर कांग्रेसले लिँदा उपमेयर समाजवादीले पाउने लगभग निश्चितजस्तै छ। संख्याको टुंगो लागेपछि मात्रै कुन दलले कुन नगरपालिकाको प्रमुख पाउने भन्ने विषयमा प्रवेश गर्ने नेताहरुले बताएका छन् ।

कांग्रेस र समाजवादीका नेताहरु काठमाडौँमा माओवादीको अवस्था कमजोर भएकाले यहाँ प्रमुख पदमा दाबी नगरे हुन्थ्यो भन्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस