Latest News

चुनावी तालमेलः माओवादीले भरतपुर नछाड्ने, कांग्रेसको भागमा कुन–कुन महानगरपालिका ?

Nepalese Times March 31, 2022 (1 Year ago)    718 Views

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै यसको मोडालिटीबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै कुन पालिकामा कुन दलको उम्मेदवार बनाउने भन्नेबारे चर्चा सुरु भएको छ ।

विशेषगरी महानगरपालिका र उपमहानगरपालिकामा चुनावी भागबण्डाका लागि प्रमुख सत्तारुढ दलहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । प्रदेश, जिल्लान र पालिकास्तरमा ५ वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने र त्यहि संयन्त्रमार्फत चुनावी भागबण्डा गर्ने निर्णय भएको छ ।

प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने उनले बताए ।तल्लो तहका संयन्त्रहरुले प्रतिवेदन बुझाएपछि मात्रै कहाँ कसरी तालमेल हुने भन्नेबारे टुंगो लगाउन सजिलो हुनेछ ।

सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने सहमति भएसँगै ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबी पेस गर्ने क्रम सुरु भएको छ ।

गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

यसअघि ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । चुनावी तालमेल हुँदा काँग्रेसले ललितपुर र विराटनगरसँगै काठमाडौं महानगरपालिकामा पनि दाबी देखाएको छ ।

सबैको चासोको रुपमा रहेको चितवनको भरतपुर महानगरपालिकामा माओवादीले दाबी गरेको छ । चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भरतपुरमा आफ्नो दाबी रहेको खुलासा गरेका छन् । भरतपुरमा अहिले उनै प्रचण्डकी छोरी रेनु दाहाल मेयरको रुपमा रहेकी छिन् ।

एमालेले जितेका काठमाडौं र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाडौं महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाडौंको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो ।

जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको तयारी भइरहेको छ ।

नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस