Latest News

चुनावमा गठबन्धन नगर्ने हो भने कांग्रेस तेस्रो पार्टी बन्छ– मेटमणी चौधरी

Nepalese Times March 31, 2022 (2 Year ago)    911 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले आउँदो चुनावमा गठबन्धन नगर्ने हो भने नेपाली कांग्रेस तेस्रो पार्टी बन्ने निश्चित भएको बताएका छन् ।

स्थानीय तहको चुनावका लागि गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलहरुको निर्णय सार्वजनिक भइरहँदाच एकीकृत समाजवादीका नेता चौधरीले कांग्रेस स्वयंको लागि पनि गठबन्धन अपरिहार्य भएको प्रतिक्रिया दिएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएर बनेको समाजवादी एक्लै चुनावमा जान डराइरहेको आरोप लागिरहेका बेला नेता चौधरीले आफूहरु एक्लै प्रतिष्पर्धामा जान तयार रहेको तर लोकतन्त्र बचाउनका लागि एमालेलाई हराउनुपर्ने र त्यसका लागि गठबन्धन आवश्यक रहेको बताए ।

नेकपा एकीकृत समाजवादी कांग्रेस बिना राजनीति नै गर्न नसक्ने भन्ने नभएको भन्दै उनले आफूहरुले एक्लै पनि चुनावी प्रतिष्पर्धामा जान तयार रहेको र चुनावी तालमेल गर्नु कांग्रेसको पनि बाध्यता भएको बताए । कांग्रेसले गठबन्धन गरेन भने तेस्रो पोजिसनमा पुग्ने र माओवादीसहित आफूहरु पहिलो स्थानमा आउने उनले बताए ।

चुनावी गठबन्धनको विकल्प नरहेको भन्दै उनले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि अधिकांश झण्डै ८० प्रतिशत केन्द्रीय समितिका सदस्यहरुले गठबन्धन गरेरै जानुपर्छ भन्ने पक्षमा मत राखेको कुरा सार्वजनिक भइसकेको बताए ।

यदि गठबन्धन जोगिएन भने कांग्रेसको पोजिसन पनि धेरै कमजोर हुन्छ भन्ने वोध कांग्रेसका नेताहरुलाई भएको भन्दै उनले २ सय, ३ सय, ४ सय भोट थपिदा पनि कांग्रेसले धेरै ठूलो आकार लिने र कांग्रेसको पनि भोट थपिदा आफूहरुको पनि ग्राफ बढ्ने बताए ।

कांग्रेसले चुनावी तालमेलका पक्षमा गरेको निर्णय स्वागतयोग्य रहेको भन्दै उनले कांग्रेसले जे निर्णय गरेको छ, त्यो ऐतिहासिक निर्णय भएको बताए ।

नेपालको लोकतन्त्रलाई र मुलुकका पाँच राजनीतिक दलहरुबीचमा एक खालको सहमति, सहकार्य वा मित्रवत व्यवहार गर्ने कुरामा सहयोगी भुमिका खेल्न सक्ने भन्दै उनले कुन पालिकामा कसरी गठबन्धन गर्ने भन्ने कुरा छलफलमै रहेको बताए ।

कांग्रेसभित्र पनि दुई खालको मत रहेको भन्दै उनले जसले गठबन्धनको पक्षमा उभिएको थियो, उसको जोड भनेको कम्तिमा सत्ता गठबन्धनलाई जोगाउँदै चुनावसम्म निरन्तरता दिनुपर्छ भन्ने रहेको बताए । दुईपक्षबीचकै मध्यमार्गी बाटो कांग्रेसले लिएको हो भन्ने आफ्नो बुझाई रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस