Latest News

पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने एमालेको निर्णय, नदिए के हुन्छ ?

Nepalese Times March 31, 2022 (2 Year ago)    782 Views

काठमाडौं । नेकपा एमालेले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने निर्णय गरेको छ । एमालेले पार्टी आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गर्ने निर्णय गरेको हो ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालले अन्तरपार्टी निर्देशन (अपानि)मा पार्टीको दीगो आर्थिक स्रोतका लागि यस्तो गर्न लागिएको उल्लेख छ ।

‘पार्टीको दीगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान) प्रस्ताव गर्नुभयो’, अपानिमा भनिएको छ, ‘एमालेका उच्च आय भएका पाँच हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना पाँच हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो ।’

अपानीमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ ।’

अपानीमा पार्टीका अधिकांश कार्यक्रमहरू माला-खादा र अस्तव्यस्त आसन ग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक माला र खादा प्रयोगलाई निरुत्साहित गर्न निर्देशन दिइएको छ ।

३ जेठ २०७५ मा पार्टी एकीकरण भएदेखि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको एमाले केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेको भन्दै पुराना खाता खोज्न सुरु गरेको छ ।

‘२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रूपमा एमाले पुनः क्रियाशील भएदेखि कोष व्यवस्थापनमा रहेको अस्तव्यस्तता दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरिएको छ,’ अपानिमा भनिएको छ ।

यस्तै बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधिनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस