Latest News

सर्लाहीमा तनाव, सीडीओलाई फोन गरेर गृहमन्त्री खाँडले के भने ?

Nepalese Times March 31, 2022 (2 Year ago)    420 Views

काठमाडौं । क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमै ज्यान गएपछि सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा तनाव अवस्था सिर्जना भएको छ ।

साइकलमा रहेका छात्राको ज्यान गएपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् । स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् ।

वार्ताको प्रयास भइरहेको र राजनीतिक दलहरुसँग समन्वयको काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

उनले भने, ‘घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।

सर्लाहीको दुर्घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी गौतमलाई फोन गरेका छन् । दुर्घटनापछि सिर्जित परिस्थितिलाई शान्तिपूर्ण समाधान गर्न गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारी गौतमलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बागमती नगरपालिका ७ निमीचोकको भित्री सडक–खण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो (क्रेन) ले बागमतीबाट गाजली चोकतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुमित्राको ज्यान गएको थियो ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउण्ड अश्रुग्यास फायर गरेको छ । अहिले घटनास्थललाई सामान्य बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकाी गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस