Latest News

काठमाडौंको मेयरका लागि उम्मेदवारी दिन लागेका रमेश खरेल कहाँका मतदाता हुन् ?

Nepalese Times March 31, 2022 (2 Year ago)    1286 Views

काठमाडौं । काठमाडौं माहानगरपालिकाको मेयरका लागि आकांक्षीहरु धेरै देखिएका छन् । त्यसमध्ये एक नेपाल सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल पनि हुन् ।

काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेका उनले आफ्नो मतदाता परिचय पत्र सार्वजनिक गरेका छन्।

काठमाडौं महानगरपालिकामा मेयर उठ्नेबारे छलफल गरिरहेका खरेलले आफ्नो मतदाता नामावलीबारे विवाद भएपछि परिचय पत्र सार्वजनिक गरेका हुन्। सम्बन्धित स्थानीय तहमा उम्मेदवार बन्न त्यही तहमा मतदाता नामावली हुनुपर्ने प्रावधान छ। खरेल काभ्रेपलाञ्चोक जिल्लाका हुन्।

उनले भनेका छन्, ‘मेरो मतदाता नामावली काठमाडौंमै रहेको जानकारी गराउन चाहन्छु ।’ खरेल काभ्रेका बासिन्दा रहेकाले काठमाडौं महानगरपालिकामा कसरी उम्मेदवार बन्न सक्छन् भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो।

खरेलको मतदाता नामावली काठमाडौं महानगरपालिका ३१ मा रहेको छ। खरेलले मतदान गर्ने केन्द्र छुनामुना कमलक्षेत्र स्कुल बानेश्वर छ।

पूर्वडिआइजी खरेल नेपाल सुशासन पार्टीबाट काठमाडौंको मेयर उठ्नेबारे छलफल गरिरहेका छन्। आफ्नो मतदाता नामावलीमा प्रश्न उठाइएपछि खरेलले परिचय पत्र सार्वजनिक गरेका हुन्।

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।

अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्। गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्।

प्रतिक्रिया दिनुहोस