Latest News

सत्ता गठबन्धनको बैठक सकियो, चुनावी तालमेलबारे के–के भयो निर्णय ?

Nepalese Times March 31, 2022 (2 Year ago)    899 Views

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने र चुनावी तालमल गर्ने निर्णय गरेको संचार तथा सुचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानबहादुर कार्कीले बताए । कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।

प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको उनले बताए । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने उनले बताए ।

उनले तल्लो तहका संयन्त्रहरुले प्रतिवेदन बुझाएपछि मात्रै कहाँ कसरी तालमेल हुने भन्नेबारे टुंगो लगाउन सजिलो हुनेछ । यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए ।

स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा महानगरपालिका र उपमहानगरपालिकामा विशेष चासो देखिएको छ । ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबी पेस गर्ने क्रम सुरु भएको छ ।

गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

यसअघि ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । चुनावी तालमेल हुँदा काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाडौंमासमेत दाबी देखाएको छ ।

भरतपुरमा माओवादीले दाबी गरेको छ । चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भरतपुरमा आफ्नो दाबी रहेको खुलासा गरेका छन् । भरतपुरमा अहिले उनै प्रचण्डकी छोरी रेनु दाहाल मेयरको रुपमा रहेकी छिन् ।

एमालेले जितेका काठमाडौं र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाडौं महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाडौंको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो ।

जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको अग्रिम तयारी भइरहेको छ ।

नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस