Latest News

मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णयहरु

Nepalese Times March 31, 2022 (2 Year ago)    666 Views

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा ४ मन्त्री सहभागी गराउने निर्णय गरेको छ ।

भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका हुन् ।

त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध छिन् ।

यस्तै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुक बढुवा भएका छन्। यसअघि बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा सिफारिस नगरेको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै उनीहरूको बढुवा सिफारिस सदर गरेको थियो ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरी सुन्ने समितिको सिफारिस सदरसँगै सरकारले आज उनीहरूलाई बढुवा गरेको हो ।

सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म छ ।

अब नेपाल प्रहरीमा एआईजीको दरबन्दी ८ पुगेको छ । एआईजीहरु हरि पाल, प्रधुम्न कार्की, निरज शाही र पन्तले आगामी वैशाख १८ मा अवकाश पाउँदैछन् । धानुक, सिंहसहित वर्तमान एआईजीहरू सहकुल थापा र विश्वराज पोखरेलमध्येबाट एकजना आईजीपी नियुक्त हुने छन्

यीमध्ये पोखरेल ज्येष्ठता र वरिष्ठतामा अगाडि छन् । यसअघि दुईजना एआईजीबीच प्रतिस्पर्धा देखिएकामा सरकारले अचानक तीनवटा दरबन्दी थपेर सिंह र धानुकलाई पनि प्रतिस्पर्धामा ल्याएको छ । प्रहरी नियमावलीमा उपलब्ध एआईजीहरूमध्येबाट एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यस्तै सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस