Latest News

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यी ४ मन्त्री पनि सहभागी हुने

Nepalese Times March 31, 2022 (2 Year ago)    519 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा ४ मन्त्री पनि सहभागी हुने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको पनि टुंगो लगाएको हो ।

भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका हुन् ।

त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध छिन् ।

यस्तै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुक बढुवा भएका छन्। मन्त्रिपरिषद्को विहीबार बिहान बसेको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा सिफारिस नगरेको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै उनीहरूको बढुवा सिफारिस सदर गरेको थियो ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरी सुन्ने समितिको सिफारिस सदरसँगै सरकारले आज उनीहरूलाई बढुवा गरेको हो ।

सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म छ ।

प्रतिक्रिया दिनुहोस