Latest News

अभिनेता निखिल उप्रेती पनि राजनीतिमा, राप्रपा प्रवेश गर्ने यस्तो तयारी

Nepalese Times March 31, 2022 (2 Year ago)    1519 Views

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पार्टी प्रवेशको क्रमले तिब्रता पाएको छ । त्यसमा पनि कलाकारहरु पार्टी प्रवेश गर्ने क्रम बढेको छ ।

केही दिनअघि कलाकार एवम् अभिनेतृ करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । त्यसको केही दिनमा नै कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ र मनिष कोइराला राप्रपा प्रवेशको तयारीमा छन् ।

यस्तै चर्चित अभिनेता निखिल उप्रेती पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । यसअघि हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चामा रहेका उनी केही दिनमै राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ ।

हिन्दू राष्ट्र र एकीकृत नेपालको नारा राप्रपासँग मेल खाने र उदेश्य एउटै भएकोले यो मुद्धामा सहमत हुने सबै एकताबद्ध हुनुपर्ने निर्णयसहित उनी राप्रपा प्रवेशको तयारीमा रहेका हुन् ।

केही महिनाअघि मात्रै पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई अभिनेता निखिल उप्रेतीले घोषणापत्र पढेर सुनाएका थिए । यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको भनिएको थियो ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत रहेका थिए । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउने प्रयास भएको थियो । तर कोइरालासमेत राप्रपामा जाने तयारी भएसँगै अभिनेता उप्रेतीसमेत राप्रपा प्रवेश गर्ने तयारी भएको हो ।

यस्तै अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

उनले भने, ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गर्दै भनेका छन्, ‘यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि बताएका छन् । अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो । अभिनेता उप्रेतीले हरेक नागरिकमा देशभक्त जाग्न जरुरी रहेको पनि बताएका छन् ।

देशप्रति जति प्रेम बढ्दै गयो त्यति देशको चोटले देशवासीलाई छुने भन्दै उप्रेतीले त्यसले देशमाथि घात गर्नेहरुलाई दुश्मनको रुपमा देख्न पाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस