Latest News

सत्ता गठबन्धनको बैठक बस्दै, कुन महानगरमा कसको दाबी ?

Nepalese Times March 31, 2022 (2 Year ago)    806 Views

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने र चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुने पौडेलको भनाइ छ ।

वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए ।

प्रचण्डले आजको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए । तर, काँग्रेस नेता पौडेलले भने महानगरमा हुने तालमेलबारे आज नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताएका छन् ।

पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ त्यो थाहा हुनुपर्ने र त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिने पौडेलको भनाइ छ । प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझि काँग्रेसले माथिमाथिबाट निर्णय नगर्ने पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस