Latest News

सुन्दरीजल घटना: यस्तो सहमतिपछि दुई दिदीबहिनीको शव १० घण्टापछि उठ्यो

Nepalese Times March 30, 2022 (2 Year ago)    1248 Views

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका २ बालिकाको शव १० घण्टापछि उठेको हो ।

स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएसँगै शव उठेको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले बताए । टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति भएको उनले बताए ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।

आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरको ठक्करबाट उनीहरुको ज्यान गएको थियो । गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनापछि स्थानीय र आफन्तले टिपरमा आगजनीसमेत गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अश्रुग्याँससमेत प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस