Latest News

कांग्रेस निर्वाचन परिचालन समितिको पहिलो बैठक, के–के भयो छलफल ?

Nepalese Times March 30, 2022 (2 Year ago)    271 Views

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको निर्वाचन परिचालन समितिले छलफल सुरु गरेको छ । समितिले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरूसँग प्रारम्भिक छलफल शुरु गरेको हो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल थालेको हो।

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तर्क्रिया भएको छ।

सत्तारुढ गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल शुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

छलफलमा विशेषगरी निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरू केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरूका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने भन्नेमा छलफल भएको छ । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।

सत्तागठबन्धनमा भएका राजनीतिक दलहरूको चुनावी तालमेलबारे र त्यसका जटिलताहरूबारे पनि प्रारम्भिक छलफल भएको एक नेताले बताए । यस्तै नेपाली काँग्रेस स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै मुख्य स्थानीय तहहरुमा मिलेर चुनाव लड्ने करीब निश्चित जस्तै भएको हो ।

स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा महानगरपालिका र उपमहानगरपालिकामा विशेष चासो देखिएको छ । ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबी पेस गर्ने क्रम सुरु भएको छ । गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

यसअघि ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । चुनावी तालमेल हुँदा काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाडौंमासमेत दाबी देखाएको छ ।

भरतपुरमा माओवादीले दाबी गरेको छ । चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भरतपुरमा आफ्नो दाबी रहेको खुलासा गरेका छन् । भरतपुरमा अहिले उनै प्रचण्डकी छोरी रेनु दाहाल मेयरको रुपमा रहेकी छिन् ।

एमालेले जितेका काठमाडौं र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाडौं महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाडौंको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो । जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको अग्रिम तयारी भइरहेको छ ।

नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस