Latest News

सुजाताले आफ्नै दाई शेखरलाई कांग्रेस सभापतिमा किन समर्थन गरिनन् ? बल्ल खोलिन् मुख

Nepalese Times March 30, 2022 (2 Year ago)    2141 Views

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफ्नै दाजु शेखर कोइरालालाई समर्थन नगर्नुको कारणबारे मुख खोलेकी छिन् ।

उनले आफ्नै दाई शेखरलाई समर्थन नगरेर सभापति शेरबहादुर देउवालाई समर्थन गर्नु आफ्नो सिद्धान्त भएको उनको तर्क रहेको छ ।

उनले भनिन्, ‘मैले शेखर दालाई समर्थन गरेको भए पनि उहाँले जित्ने स्थिति थिएन । म शेखर दालाई नेता मान्छु । तर, मैले महाधिवेशनमा उनलाई समर्थन गर्नुपर्ने औचित्य ठानिनँ । यसबारे म थप केही बोल्दिनँ र बोल्न जरुरी पनि ठान्दिनँ ।’

बुधबार विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नै दाई भएपनि शेखर कोइरालालाई समर्थन गर्नुको औचित्य नदेखेकोले समर्थन नगरेको बताइन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक रहेको बताइन् ।

केपी ओली नेतृत्वको सरकार हटाउन गठबन्धन नै आवश्यक परेकाले अझै पनि मुलुक र प्रजातन्त्रका लागि गठबन्धन अपरिहार्य भएको उनले बताइन् ।

आगामी संघीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिने पनि कोइरालाले घोषणा गरिन् । अघिल्लो निर्वाचनमा आफू अस्वस्थ भएकाले उम्मेदवार बन्न नसकेको, तर अब उममेदवार बन्ने उनले बताइन् ।

सो क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले तीनपटक संसदीय निर्वाचन जितेका थिए । पछिल्लोपटक सो क्षेत्रबाट निर्वाचन जितेरमीनेन्द्र रिजाल संघीय सांसद बनेका छन् । सुजाताले सो क्षेत्र आफ्नो भएकाले आगामी निर्वाचनमा कांग्रेसको उम्मेदवार आफैँ हुने दाबी गरिन् ।

यस्तै कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस