Latest News

अबदेखि ‘प्याक’ लिएरै सस्तो मूल्यमा एनटीसीबाट एनसेलमा फोन गर्न सकिने, यस्तो छ प्रक्रिया

Nepalese Times March 30, 2022 (2 Year ago)    862 Views

काठमाडौं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक सेवा ल्याउने भएको छ ।

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै त्यसमा थप सुविधासहित विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो।

सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका टेलिकमले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको छ।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपैयाँमा खरिद गर्न सकिन्छ।

साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ।

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन्। ५९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ। अब ५९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ।

साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ।

यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ। ९९९ रुपैयाँ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ। त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन्। नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ। कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् रहेका छन् ।

प्रतिक्रिया दिनुहोस