Latest News

सुदुरपश्चिम प्रदेशमा कांग्रेस र एमाले मिल्ने, बैठकले गर्यो यस्तो निर्णय

Nepalese Times March 30, 2022 (1 Year ago)    3237 Views

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भएका छन् । एमाले र कांग्रेसका नेताहरूले एक ठाउँमा उभिएर सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका हुन् ।

केन्द्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादी दलबीच गठबन्धन भए पनि सुदूरपश्चिम सरकारमा भने कांग्रेस सरकार बाहिर प्रमुख प्रतिपक्षी दल बनेको छ ।

बुधबार धनगढीमा भएको छलफलमा नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरू सरकारको विपक्षमा एक हुने निर्णयमा पुगेका हुन् ।केन्द्रभन्दा पनि प्रदेशको आवश्यकताअनुरूप गठबन्धन गर्नुपर्ने देखिएकोले यस्तो निर्णय गरिएको कांग्रेसका प्रदेश सांसद भरत खड्काको भनाइ छ ।

एकतर्फी रूपमा सरकारले काम गर्दै आएको र त्यसको भागीदार आफूहरु बन्न नसक्ने भन्दै उनले केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको बताए ।

सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको भनाइ छ । एमाले पनि अहिले प्रतिपक्षमा रहेको र उसले कांग्रेसको साथ पाउँदा सरकारको विरोध गर्ने शक्ति बलियो हुने उनले बताए ।

प्रदेश गठबन्धनबारे कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बिका थापा तथा एमालेका प्रकाशबहादुर शाह, लीलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेव रेग्मीबीच संयुक्त छलफल भएको थियो ।

यो प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको छ । सत्ता साझेदार दलका रूपमा एकीकृत समाजवादी मात्रै छ । जसका कारण कांग्रेस रुष्ट छ ।

कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति भएको एमालेका प्रदेश संसद लीलाधर भट्टले जानकारी दिए ।

कांग्रेस सुरुआतदेखि नै सुदूरपश्चिम प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी रहँदै आएको दल हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा समाजवादीका १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमालेका १०, जसपा १ र लोसपा १ प्रदेश सांसदहरूले प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रदेशमा ६ राजनीतिक दलहरूको प्रतिनिधित्व छ । केन्द्रमा गठबन्धन भए पनि सुदूरपश्चिममा आफ्नो सहभागिता नभएको भन्दै कांग्रेस रुष्ट रहँदै छ ।

प्रतिक्रिया दिनुहोस