Latest News

अभिनेता शिव श्रेष्ठ, भुवन केसी र मनिषा कोइराला राप्रपामा प्रवेश

Nepalese Times March 30, 2022 (2 Year ago)    3424 Views

काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

उनीहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको र जतिसक्दो चाँडो उनीहरु पार्टी प्रवेश गराईने उनको भनाइ छ । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको छ ।

भुवनले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर पार्टी प्रवेशबारे छलफल गरेका थिए । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले प्रस्ताव समेत राखेका थिए ।

तर प्रवक्ता शाहीले भने अध्यक्ष लिङ्देन र अभिनेता केसीबीचको छलफलबारे आफूलाई थाहा नभएको बताए । प्रवक्ता शाहीले भने, ‘भेट्ने कुरा चाहिं भएको हो, तर छलफलबारे मलाई थाहा छैन । सबै जिम्मा धवलजीको वार्ता समितिलाई दिएका छौं ।’

यस्तै अभिनेत्री मनिषा कोइरालासँग पनि राप्रपा प्रवेश गर्नेबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रवादी शक्तिहरुबीच एकता र सहकार्य गर्नेबारे कुराकानी भएको र त्यही अवधारणाअनुसार मनिषा कोइरालासँग कुराकानी अघि बढेको शाहीले बताए ।

यस्तै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र कुनै पनि हालतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने पक्षमा छन् । पार्टीमा आफूखुशी गर्न थालेपछि अल्पमतमा परेका उनी अहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग सम्वादमा छन् ।

पार्टीमा अल्पमतमा रहेको मिश्र कुनै पनि हालतमा राप्रपामा समाहित हुन खोज्नुको कारणबारेसमेत चासो र चर्चा भइरहेको छ । राप्रपाका अध्यक्ष लिङ्देन र मिश्रबीच दुई पार्टी एक बनाउँदा मिश्रलाई पार्टी संयोजक बनाउने मोटामोटी सहमति भएकोसमेत बुझिएको छ ।

यस्तै विवेकशिल साझाबाट गएकाहरुलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारीमा राख्नेसमेत अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ । पार्टी एकतापछि पार्टीको नामा ‘राप्रपा विवेकशिल साझा’ राख्ने अवथा ‘राप्रपा साझा’ राख्ने भन्नेबारेमा पनि कुरा भइरहेका छ ।

तर, मिश्र अहिले विवेकशील साझामा अल्पमतमा परेका छन् । ९६ जना केन्द्रीय सदस्य उजुरी बोकेर निर्वाचन आयोग पुगेपछि अध्यक्ष मिश्र विवेकशिल साझा पार्टीमा अल्पमतमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस