Latest News

एमाले, माओवादी केन्द्र र राप्रपाबाट १०० भन्दा धेरै कांग्रेस प्रवेश, गगन थापाले गरे स्वागत

Nepalese Times March 30, 2022 (2 Year ago)    462 Views

काठमाडौं । एमाले, माओवादी केन्द्र र राप्रपाबाट १०० भन्दा धेरै व्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन् । काठमाडौंको टोखा नगरपालिका ८ कार्यसमितिले गरेको कार्यक्रमको अवसरमा कांग्रेस महामन्त्री गगन थापाले एमाले, माओवादी केन्द्र र राप्रपाबाट आएका १०० भन्दा धेरैलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले नेतृत्व गरेको सरकारका बेलामा भएका कामहरुको फेहरिस्त लिएर जनतामा जान आग्रह गरेका छन् ।

थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले गरेका कामको प्रचार गर्न आग्रह गरेका हुन् । उनले कांग्रेसको घरमा आउने सबैलाई कांग्रेसले स्वागत गर्ने बताएका छन् ।

उनले यसले थप तागत र मजबुत बनाउने उल्लेख गर्र्दै अबको डेढ महिनामा जनताले निर्वाचनमा दल रोज्न र फेर्न पाउने बताए । नेता थापाले कांग्रेसले जनता सामु गरेका वाचा सबै पूरा गरेको दाबी गर्दै भने, ‘जनताले कांंग्रेसलाई किन रोज्ने हामीले घर–घर गएर बुझाउनुपर्छ । पाँच वर्षमा के–के भयो मूल्यांकन गर्नुपर्छ । स्थिति अहिले निकै फरक छ । नेपाली कांग्रेसले जनतासँग गरेको वाचा पूरा गरेको छ । २०७४ को घोषणापत्र फर्केर हेरौं । स्थिरता दिन्छु भन्नेहरूले के–के गरे, हामी सबैलाई थाहा छ ।’

उनले एमसीसीसीमा कम्युनिस्टहरू बेइमान बनेको फेहरिस्त सुनाए । देशले ऋण, अनुदान र सहयोग लिन्छ भन्दै उनले कांग्रेस नक्कली राष्ट्रवादी होइन भने ।

उनले जसले टिकट ल्याए पनि कांग्रेसका साथीहरूले एकले अर्कालाई सघाउनुपर्ने भन्दै भने, ‘अन्तरघात भगवानले देख्छन्, घात गर्नु पाप हो ।’

क्षेत्र नं ६ का सांसद तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कांग्रेसको इतिहास सम्झाउँदै राजतन्त्र फाल्ने र कम्युनिस्टहरूलाई मुलधारमा कांगेसले नै ल्याएको बताए ।

हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्नेहरू आज कहाँ छन् रु भन्दै प्रश्न गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली झुटको खेती गर्न माहिर भएको दाबी गर्दै कांग्रेसले नराम्रो केही नगरेको बताए ।

संविधान र संसद बचाएर कांग्रेसले सरकारको नेतृत्व गरेको उनको जिकिर छ । आफ्नो ४४ बर्षको राजनीतिको स्मरण गर्दै प्रधानले राजनीतिमा प्रतिबद्धता, निरन्तरता र धैर्यता चाहिने बताए ।

विधान र लोकतन्त्र बमोजिम पार्टी चल्नुपर्ने बताउँदै इमानदार बने कांग्रेसभित्र सबैको पालो आउने बताए । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले कांग्रेसको एकतालाई कसैले तोडन नसक्ने र निर्णायक जनता नै भएको बताए ।

जसले जिते पनि कांग्रेसले राम्रो उम्मेदवार छान्न सक्नुपर्ने भन्दै उनले एमसीसीमा कांग्रेस प्रष्ट रहेको र कांग्रेसले भ्रम र यथार्थलाई जनताको हात–हातमा पुर्याएको बताए ।

प्रतिक्रिया दिनुहोस