Latest News

फिल्मबाट सन्यास लिने अमिर खानको घोषणा, कारण यस्तो

Nepalese Times March 30, 2022 (2 Year ago)    574 Views

काठमाडौं । बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने घोषणा गरेका छन् । आफूले परिवारलाई समय दिन नपाएको भन्दै उनले फिल्ममा काम नगर्ने र फिल्म निर्माण समेत नगर्ने निर्णयमा आफू पुगेको खुलासा गरेका हुन्।

यो निर्णय उनले कोरोनाकालमै गरेका थिए। आगामी फिल्म ‘लालसिंह चड्डा’ पछि आफूले फिल्म नखेल्ने निर्णय गरेको उनले बताए । अभिनेता आमिरको फिल्मबाट संन्यास लिने निर्णयप्रति उनकी पूर्व श्रीमती किरण रावलगायत परिवार दुखी भएका थिए।

आफूले किरणसहित यो कुरा परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाएको र आफूले मनबाटै फिल्म छाडिसकेको उनको भनाइ थियो । त्यही निर्णय बुझाउने तरिकाले परिवारलाई सुनाएको र उनीहरूले आफूसँग कुनै वादविवाद नगरेकोसमेत उनले बताए ।

तर उनकी श्रीमती किरण रावले फेरि सोच्न आग्रह गरेकी थिइन्। उनले भने, ‘किरणले मभित्रको फिल्मलाई चिनेकी छन्। उनले मसँग रुँदै फिल्मबाट अलग नहुन आग्रह गरिन्। तर, म अब यो सब गर्न चाहँदिनँ थिएँ ।’

उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधिसमेत आफूले नगर्ने बताएका थिए। उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन्।

आमिरले यो कुरा परिवारभन्दा बाहिर पनि भन्न चाहेका थिए। तर फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए। उनलाई यो ुमार्केटिङ पोलिसीु नलागोस् भन्ने थियो।

उनले आफ्नो फिल्म लालसिंह चड्डा आफूलाई मनपर्ने अभिनेता टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन्। यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो। यसमा आमिरलाई करीना कपूर खानले साथ दिएकी छिन्।

उनको पछिल्लो समय ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भयो। आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए।

किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन्। आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन्। किरण र आमिरले आफूहरू श्रीमानश्रीमतीका रूपमा अलग भए पनि सँगै काम गरिरहने र साथी रहिरहने बताएका थिए।

प्रतिक्रिया दिनुहोस