Latest News

चुनावी तालमेलः कुन महानगरपालिकामा कसको दाबी ?

Nepalese Times March 30, 2022 (2 Year ago)    633 Views

काठमाडौं । अन्ततः सत्तारुढ दलहरुले आउँदो स्थानीय तहको चुनावमा तालमेल गर्ने भएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेसँगै दलहरुबीच चुनावी तालमेल गर्ने निश्चित भएको हो ।

नेपाली काँग्रेस स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै मुख्य स्थानीय तहहरुमा मिलेर चुनाव लड्ने करीब निश्चित जस्तै भएको हो ।

स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा महानगरपालिका र उपमहानगरपालिकामा विशेष चासो देखिएको छ । ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबी पेस गर्ने क्रम सुरु भएको छ ।

गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

यसअघि ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । चुनावी तालमेल हुँदा काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाडौंमासमेत दाबी देखाएको छ ।

भरतपुरमा माओवादीले दाबी गरेको छ । चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भरतपुरमा आफ्नो दाबी रहेको खुलासा गरेका छन् । भरतपुरमा अहिले उनै प्रचण्डकी छोरी रेनु दाहाल मेयरको रुपमा रहेकी छिन् ।

एमालेले जितेका काठमाडौं र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाडौं महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाडौंको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो ।

जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको अग्रिम तयारी भइरहेको छ ।

नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस