Latest News

पूर्वडिआइजी रमेश खरेल काठमाडौं महानगरको मेयरमा उठ्ने, गरे यस्तो तयारी

Nepalese Times March 30, 2022 (2 Year ago)    684 Views

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेलले आवश्यक परामर्शसमेत सुरु गरेका छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।

खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए। उनले भने, ‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन।’

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।

अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्। गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् ।

उनले भने, “महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ”, उनले भने, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।”

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस